
नेपाली सेनाले भ्रष्टाचार र आचरणसम्बन्धी कसूरमा ३ सैनिक अधिकृत तथा २ अन्यलाई सैनिक ऐन २०६३ अन्तर्गत कारवाही गरेको छ ।
शुक्रवार साँझ जंगी अड्डाले एक विज्ञप्ति निकाल्दै ५ जनालाई कारवाही गरेको जनाएको हो । सैनिक आवासीय महाविद्यालय भक्तपुरमा भ्रष्टाचार भएको भन्दै सेनाले कारवाहीको प्रक्रिया थाले बताएको हो ।
हेर्नुहोस् विज्ञप्ति -
आज मिति २०७७ जेष्ठ ०९ गते बसेको समरी जनरल सैनिक अदालतबाट श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा कार्यरत रहंदा सम्पत्ति र अनुशासन तथा आचरण सम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएका ३ (तीन) जना सैनिक अधिकृत तथा २(दुई) जना अन्यदर्जाहरुलाई सैनिक ऐन २०६३ बमोजिम कारवाही गरिएको छ ।
2. श्री सैनिक कल्याणकारी कोषको लगानीमा सन्चालित श्री सैनिक आवासिय महविद्यालय,भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्डको मिति २०७६।११।२३ गतेको राय सहितको प्रतिबेदनको आधारमा तत्कालिन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारी सहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा मिति २०७६।१२।०६ गते गठित समरी जनरल सैनिक अदालतबाट देहाय बमोजिम गर्ने गरी मिति २०७७।०२।०६ गते भएको फैसला आज मिति २०७७।०२।०९ गते सम्बन्धितहरुलाई सुनाइएको छ ।
(क) महा सेनानी भुपालमान अधिकारीले श्री सैनिक आवासिय महाविद्यालय, भक्तपुरमा सम्पर्क अधिकृत रहेको अवधिमा आर्थिक अनियमितता गरी गराई सैनिक ऐन, 2063 को दफा 49 को खण्ड (क), दफा 52 को खण्ड (6) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा 101 को उपदफा (1) खण्ड (ग) र (घ) बमोजिम 2 (दुई) महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य (न) नठहरीने गरी सेवाबाट हटाउने । साथै निजले गैर-कानूनी रुपमा आर्थिक उपार्जन गरी लिए/खाएको ठहरिन आएको विगो रकम रु. 1,85,40,108।11 (एक करोड पचासी लाख चालीहजार एकसय आठ रुपैया एघार पैसा) असुल उपर गर्ने ।
(ख) प्रमुख सेनानी देव बहादुर क्षेत्रीले आर्थिक अनियमितता गरी सैनिक ऐन, 2063 को दफा 49 खण्ड को खण्ड (क), दफा 52 को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा 101 को उपदफा (1) खण्ड (च) बमोजिम २(दुई) बर्ष बढुवा
रोक्का गर्ने र निजबाट रकम रु. ४,40,000।00 (चारलाख चालीस हजार) असुल उपर गर्ने ।
(ग) हुद्धा यज्ञराज पोखरेलले आर्थिक अनियमितता गरी सैनिक ऐन, 2063 को दफा 52 को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा 101 को उपदफा (1) को खण्ड (घ) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य (न) नठहरीने गरी सेवाबाट हटाउने । साथै निजबाट रकम रु. 3,60,000।00 (तीन लाख साठी हजार) असुल उपर गर्ने ।
(घ) हुद्धा गणेश बहादुर अधिकारीले आर्थिक अनियमितता गरी सैनिक ऐन, 2063 को दफा ५२ खण्ड को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा 101 को उपदफा (1) खण्ड (झ) बमोजिम २(दुई) बर्ष तलव वृद्धी (ग्रेड) रोक्का गर्ने । साथै निजले हिनामिना गरेको रकम रु. 10000।00 (दश हजार) असुल उपर गर्ने ।
(ङ) लेखा आ.सह-सेनानी सुरेन्द्र विक्रम भण्डारीले आर्थिक कार्यहरु गर्दा कानूनी प्रकृया अवलम्वन नगरी नगराई सैनिक ऐन, 2063 को दफा 49 खण्ड को खण्ड (क), दफा 52 को खण्ड (छ) र (झ) बमोजिमको कसुरमा दोषी ठहरीएकोले ऐ.ऐनको दफा 101 को उपदफा (1) को खण्ड (ञ) बमोजिम नसिहत दिने ।
(च) साथै सोही मुद्धामा अन्य १३ जनाले अभियोग मागदावीबाट सफाई पाउने गरी ठहर फैसला भएको ।
३. नेपाली सेनाले पद्दती र प्रणालीमा आधारित सांगठन सन्चालनमा जोड दिंदै पारदर्शिता र जवाफदेहिता कायम गर्ने तथा दण्डहिनताको अन्त्य गर्ने लक्ष्य अनुसार अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई कारवाही गरिएको । साथै, नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउने (Reversing Corruption)को कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलता (Zero Tolerance)को नीति लिएको ब्यहोरा समेत जानकारी गराइन्छ ।