
लद्दाखमा चिनियाा सुरक्षाबलले भारतीय सेनाको गश्ती टोलीलाई नियन्त्रणमा लिएको खबरलाई भारतीय सेनाका स्रोतहरूले खण्डन गरेको जीन्युजको अन्लाइन संस्करणमा छापिएको छ ।
भारतीय सेना र इन्डो–टिबेटन बोर्डर पुलिसका जवानहरूलाई चिनियाँ जनमुक्ति सेनाले गत साता लद्दाखमा वास्तविक नियन्त्रण रेखा नजिक भएको झैझगडापछि नियन्त्रणमा लिएको खबर आएको थियो । समाचारहरूमा आएबमोजिम, भारतीय गश्ती टोलीलाई केही समयका लागि नियन्त्रणमा लिइएको थियो र उनीहरूको हतियार चिनियाँहरूले खोसेका थिए । स्थानीय स्तरमा दुई पक्षबीच कुराकानी भएपछि मात्र उनीहरूलाई मुक्त गरिएको बताइएको थियो ।
चिनियाँ बलहरूले भारतीय भूभागमा अतिक्रमण गरेको अनि पांगोङ तालमा डुंगाहरूका साथ आक्रामक गश्ती गरेको बताइएको थियो ।
वास्तविक नियन्त्रण रेखामा तनाव बढ्दा दुवै पक्षले उक्त क्षेत्रमा सैनिक र हातहतियारको संख्या बढाएका छन् । झैझगडा भएका ठाउँमा दुवै पक्ष उच्च सतर्कताको स्थितिमा छन् ।
भारतीय सेनाले भारतीय भूभागमा कुनै पनि किसिमको चिनियाँ अतिक्रमण हुन नदिने र यी क्षेत्रहरूको गश्ती गर्ने बताएको छ । चिनियाँ जनमुक्ति सेना भारतमा प्रवेश गरेर भारतीय बलहरूसँग यदाकदा भिडन्त गरिरहेको छ ।