०२ साउन २०८३, शनिबार

उद्यमी केडियाले कारागार व्यवस्थापन विभागलाई उपलब्ध गराए ५७ थान पीपीई सेट

उद्यमी केडियाले कारागार व्यवस्थापन विभागलाई उपलब्ध गराए ५७ थान पीपीई सेट

पूर्वसांसद तथा उद्यमी विमल केडियाको संयोजकत्वमा कारागार व्यवस्थापन विभागलाई ५७ थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) हस्तान्तरण गरिएको छ ।

कारागार व्यवस्थापन विभागका निर्देशक प्रदीपराज कंडेललाई उद्यमी केडियाले आज (आइतवार) विभागको प्रांगणमै पुगेर पीपीई, एन ९५ मास्क, कोरोनाभाइरस प्रोटेक्टिभ भाइजर तथा जुत्ता ५७/५७ थान उपलब्ध गराएका हुन् ।

ती सामग्री श्रीश्री रवि शंकरद्वारा स्थापित ‘द आर्ट अफ लिभिङ इन्टरनेसनलअन्तर्गतको द आर्ट अफ लिभिङ नेपाल च्याप्टरका अध्यक्ष सिद्धेश्वरकुमार सिंहको क्रियाशीलतामा दिएको हो ।

कारागारका कैदीबन्दीहरूलाई अदालत र अस्पतालमा लैजाँदा ड्राइभर, कारागारका कर्मचारीलाई कोरोनाभाइरसको जोखिमबाट बचाउनका लागि सहयोग होस् भन्ने उद्देश्यले पीपीई उपलब्ध गराएको उद्यमी केडियाले बताए ।

‘कारागारमा पनि कोभिड– १९ को जोखिम उत्तिकै छ, मेरो सानो सहयोगले यसबाट जोगिन मद्दत पुग्नेछ,’ केडियाले भने ।

कारागारमा नयाँ थपिने र बिरामी परेका कैदीबन्दीलाई अस्पताल र अदालत लैजाँदा कोरोनाको जोखिम हुने भएकाले पीपीईले यसबाट जोगिन मद्दत पुग्ने भन्दै केडियालाई कारागार व्यवस्थापन विभागका निर्देशक कंडेलले धन्यावाद दिए ।

आफूहरूले पाएको पीपीई लगायतका सामग्री देशभरका कारागारमा वितरण गरिने बताए ।

‘उहाँलाई (विमल केडिया) लाई धन्यवाद, उहाँको सहयोगले हामीलाई कोरोनाको जोखिमबाट बच्न मद्दत पुग्ने छ,’ निर्देशक कंडेलले भने, ‘हामीले पीपीईलगायतका सामग्री देशभरका कारागारलाई उपलब्ध गराउँछौं ।’

द आर्ट अफ लिभिङ उपत्यकामा रहेका विपन्न, असहाय, गरीब परिवारलाई १५ दिनलाई पुग्ने चामल, दाल, तेल, चिउरा, साबुनलगायतका दैनिक उपभोग्य वस्तुको एउटा प्याकेट बनाएर वितरण गर्दै आएको छ ।

विगतका दिनमा सरकारले वितरण गरेको सहयोग र अन्य निजी संघ–संस्थाले वितरण गरेको राहतमा निकै भिन्नता देखियो ।

सरकारले वितरण गर्ने राहत लक्षित वर्गसम्म पुग्न केही समय लाग्यो भने निजी संघ–संस्थाले वितरण गरेको राहतको तत्कालै रिजल्ट देखिएको उद्यमी केडियाले बताए ।

‘झन् लकडाउन भइसकेपछि त छिटोभन्दा छिटो विपन्न तथा असहाय वर्गमा खाद्यान्न पुर्‍याउनुपर्ने छ । त्यसकारण हामीले जिल्ला प्रशासन कार्यालयसँग छलफल गरेर स्वीकृति पाइसकेका छौं । उहाँहरूले स्थानीय तहसँग समन्वय गरेर वितरण गर्दिनुस् भन्नुभएको छ, त्यसकारण हामीले स्थानीय तहसँगको समन्वयमा नै खाद्यान्न वितरण गर्न लागेका हौं,’ केडियाले लोकान्तरसँग भने । 

विभिन्न व्यवसायीहरूको सहयोगमा आफूहरूले खाद्यान्न वितरण गरिरहेको उनले बताए । 

यसको समन्वय र संयोजकत्व ‘द आर्ट अफ लिभिङ इन्टरनेसनल नेपाल’ले गरेको छ र यसको संयोजक उद्यमी केडिया रहेका छन् ।

कम्पुचिया मारवाडी ग्रुप, विभिन्न व्यवसायी र मारवाडी समाजका विभिन्न संघ–संस्थाको पनि सहयोगमा उनले राहत वितरण गर्दै आएका छन् ।

‘लकडाउनको समयमा सिर्जनात्मक काम गर्नुहोला’

सरकारले गरेको लकडाउनको समयमा घरबाहिर ननिस्केर सरकारलाई सहयोग गर्न उद्यमी तथा पूर्वसांसद केडियाले अनुरोध गरेका छन् ।

घरमा बस्दा इन्टरनेटको माध्यमबाट ज्ञान हासिल गर्ने, किताब पढ्ने, सिर्जनात्मक काम गर्ने गरेर पनि समय बिताउन सकिने केडियाले बताए । 

कोरोनाभाइरस विभिन्न व्यक्तिसँग हात मिलाउँदा सर्ने भएकाले नमस्कार संस्कार बढाउन सकिने केडियाले बताए ।

‘नेपाली संस्कारमा रहेको नमस्कारलाई बढावा दिनुपर्छ भन्ने मेरो मान्यता छ, यसले गर्दा कोरोना संक्रमण फैलिँदैन,’ उनले भने । 

केडियाले विगत केही वर्षदेखि नमस्कार संस्कारलाई बढावा दिनका लागि अभियान नै चलाउँदै आएका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्