
कैलालीको दक्षिणपूर्वी क्षेत्रमा कोरोना परीक्षण गर्न किटको अभाव भएको छ । यही जेठ ९ गते जानकी गाउँपालिकाका तीनजनामा कोरोना भाइरसको पुष्टि भएको थियो ।
किट अभाव भएका कारण परीक्षणको दायरा बढाउन नसकिएको टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिए ।
'जोखिम बढेको छ, किट छैन परीक्षणको दायरा बढाउन सकिएको छैन', उनले भने, 'प्रदेश सरकारसँग समन्वय गर्दा पनि किट पाइएको छैन । आफ्नै स्रोतले खरिदका लागि पनि सम्भव देखिँदैन ।'
उनले आरडीटी र भीटीएम दुवै किट नहुँदा परीक्षणको काम पूर्णरूपमा रोकिएको जानकारी दिए ।
नगरपालिकामा हाल १६० जना क्वारेन्टिनमा रहेका छन् । भारतबाट नागरिक आउने क्रम बढेसँगै क्वारेन्टिनको व्यवस्थापनमा समेत नगरपालिकाले काम गर्दै आएको उनले बताए ।
नगरपालिकाको प्रोफाइलका अनुसार १६ हजार नागरिक भारतमा रहेको बताएका छन् ।
उनले यस्तै अवस्था रहने हो भने स्थानीय सरकारले धेरै दिन थेग्न नसक्ने भन्दै हालको अवस्थामा कम्तीमा पाँच हजार नागरिक नगरमा भित्रिन सक्ने बताए ।
संक्रमण देखिएको जानकी गाउँपालिमा समेत किट नहुँदा कोरोना परीक्षण रोकिएको छ ।
संक्रमितको सम्पर्कमा आएका ४२ जना आफूहरूको सम्पर्कमा आएपनि परीक्षण किट नभएका कारण कुनै काम गर्न नसकिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए ।
उनले दिनप्रतिदिन सयौंको सङ्ख्यामा भारतबाट नागरिक आउन थालेको बताउँदै परीक्षणको दायरा बढाउन नसकेकै कारण समुदायमा त्रास फैलिएको बताएका छन् ।
स्वास्थ्य शाखा प्रमुख चौधरीले क्वारेन्टिनमा बसेकाको समय पुगिसकेको पनि किट नभएकै कारण जाँच गर्न नसकिएको बताए ।
जानकी गाउँपालिकामा कोरोना भाइरसको संक्रमण देखिएपछि वडा नं ४ को मोतिनगर र वडा नं ७ को बेलासपुर सिल गरिएको छ ।
भजनी नगरपालिकामा पनि किटको अभाव देखिएको छ । नगरपालिकामा किट नहुँदा क्वारेन्टिनको समय पुगेकाहरुलाई होम क्वारेन्टिनमा पठाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख कीर्तिसिंह विकले बताएका छन् ।
मानिसको चाप दिनप्रतिदिन बढ्दै गएको बताउँदै विकले प्रदेश सरकारसँग समन्वय गर्दा पनि आउँछ भन्ने प्रतिक्रिया पाउने गरेको तर किट प्राप्त गर्न नसकिएको जानकारी दिए ।
उनले नगरपालिकाले किट खरिदका लागि पहल गर्दा एक किटको मात्र रु एक हजार १०० पर्ने भनेपछि नगरपालिकाको स्रोतले किट खरिद गर्न नसकिने बताए ।
नगरपालिकामा १५० भन्दा बढी मानिस क्वारेन्टिनमा रहेका छन् । भारतसँग सिमाना जोडिएको लालभोजी र खैलाडमा सीमा प्रवेश गर्न खोज्ने नागरिकलाई सिमानामै रोकेर उनीहरूको व्यवस्थापन गरिएको छ ।
जोसिपुर गाउँपालिकामा समेत आरडीटी र भीटीएम किटको अभाव हुँदा परीक्षणको दायरा बढाउन नसकिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले जानकारी दिए ।