०४ असार २०८३, बिहीबार

मौरीबाट विष उत्पादन गर्ने लक्ष्य

जेठ १३, २०७७
मौरीबाट विष उत्पादन गर्ने लक्ष्य

व्यास नगरपालिका–१ गल्बुबेंसी निवासी ५४ वर्षीय रामनाथ मिश्र व्यावसायिकरुपमा मौरीपालन गरेर विदेश जाने युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन् ।

गाउँघरमै बसेर पशुपालन, तरकारी खेती, माछापालन, मौरीपालनलगायत कार्य गरेर घर परिवारका साथमा बसेर राम्रै पैसा कमाउन सकिने उनी बताउँछन् ।

शुरूमा वनबाट खोजेर ल्याएका २–३ मुढे घारबाट शुरू गरेका मिश्र अहिले व्यावसायिक मौरीपालनमा लागेका छन् ।

उनले विक्रम संवत् २०७४/७५ मा श्रीकृष्ण मौरी फार्म दर्ता गरी आधुनिक मौरी घार राखेर व्यावसायिकरुपमा मौरीपालन कार्य थालेका हुन् । कृषक मिश्रले सेराना जातका करीब ६० मौरीका घार राखेर वार्षिक न्यूनतम ५/६ लाख सजिलै कमाउन सकिने बताए । विक्रम संवत् २०७१ सालदेखि मौरी व्यवसायमा लागेका उनले भने, ‘यो ५ वर्षको अवधिमा ३ वर्ष लगानी र व्यवस्थापन गर्दैमा मुनाफा लिन नसकेपनि २ वर्षको अवधिमा राम्रै आम्दानी गर्न सफल भएको छु ।’

उनले भने, ‘शुरूमा १७ वटासम्म मौरी घार राख्दा पनि मौरी बसेनन् तर पनि कत्ति पनि बिचल्ली भइनँ, निरन्तर लागिरहें ।’ एक रोपनी क्षेत्रफल जग्गामा तारबार गरी करीब ६ लाख रुपैयाँ खर्च गरेर व्यवस्थितरुपमा मौरीपालन गरिएको छ ।

मौरी पाल्नुभन्दा अघि ट्रयाक्टर, बस र इँटा उद्योगसमेत सञ्चालन गर्दै आएपनि अहिले ती सबै पेशा व्यवसाय छाडेर मौरीपालनमा रमाउन थालेको कृषक मिश्रले बताए ।

मह प्रतिकिलो १ हजार २०० रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए । मह बिक्रीका लागि बोकेर अन्यत्र लैजानु नपर्ने बताउँदै उनले भने, ‘घरमै मह लिन मानिस आउने गर्छन्, मागअनुरुप पुर्‍याउनसमेत सकिएको छैन ।’

घारसहितको मौरी प्रतिघार ८ हजार रुपैयाँमा बिक्री गर्ने गरेको र कसैले घार ल्याए मौरीको मात्रै ५ हजार रुपैयाँमा बिक्री गर्ने गरेको उनले बताए ।

स्थानीय तथा प्रदेश सरकारले तालिम तथा औजार प्रदान गरेमा मौरीबाट विष तथा कुट उत्पादन गर्ने अन्तिम लक्ष्य रहेको उनको भनाइ छ । मौरीबाट विष उत्पादन गर्न सके प्रतिकिलो ३० लाख रुपैयाँसम्म बिक्री गर्न सकिने उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्