भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले संघीय राजधानी काठमाडौंमा बढ्दो सवारी जाम अन्त्य गरी सुन्दर बनाउन बजेटमा ‘फ्लाइ ओभर’ बनाउने कार्यक्रम ल्याएको बताएका छन् ।
काठमाडौंमा एउटा होइन, धेरै ‘फ्लाइ ओभर’ आवश्यक रहेको उनले बताए ।
‘एकजना माननीयले ‘फ्लाई ओभर’को बजेट प्रदेशलाई पठाउनु उपयुक्त हुन्छ भन्नुभयो । संसारभर राजधानी अत्यन्त व्यस्थित हुन्छन् । हाम्रो राजधानी संस्कृतीको धनी छ, तर बाटा साना छन्, ट्राफिक बढ्दो छ । धूलोधूवाँ बढ्दो छ । मर्मत सम्भारको आवश्यकता छ, जाम नियन्त्रण गर्नु छ,’ विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको पुरक जवाफका क्रममा मन्त्री नेम्वाङले भने, ‘काठमाडौंमा एउटा होइन धेरै ‘फ्लाई ओभर’ आवश्यक छ । संघीय राजधानीलाई सुन्दर बनाउन यो जरुरी छ । क्राउड नियन्त्रण र सवारी जाम कम गर्न यही कुरा महसूस गरेर बजेटमा राखिएको हो ।’
त्यसअघि नेमकिपाका सांसद प्रेम सुवालले ‘फ्लाई ओभर’का नाममा छुटटाइएको रकम प्रदेशको राजधानी विकास गर्न तथा काठमाडौं –तराई फास्ट ट्र्याक रद्द गरेर त्यसको रकम स्थानीय तहमा बाटो बनाउन पठाउन माग गरेका थिए ।