२२ असार २०८३, सोमबार

काठमाडौंमा ‘स्मार्ट सिटी’को योजना पूरा गर्छौं : शहरी विकास मन्त्री

काठमाडौंमा ‘स्मार्ट सिटी’को योजना पूरा गर्छौं : शहरी विकास मन्त्री

शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौं उपत्यकामा अव्यस्थित बस्ती विस्तार भएका कारण संघीय राजधानीलाई व्यवस्थित बनाउन स्मार्ट सिटीको अवधारणा ल्याइएको बताएका छन् । काठमाडौं उपत्यकाको चार ठाउँमा बन्ने स्मार्ट सिटीको काम आगामी आर्थिक वर्षमा तीव्र बन्ने उनले बताए ।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सोमवार संसद्मा जवाफ दिँदै मन्त्री नेम्वाङले संघीय राजधानीको रूपमा स्वच्छ, सफा र प्रदूषणमुक्त शहर बनाउन स्मार्ट सिटी बनाउन लागिएको बताएका हुन् । 

‘कुनैपनि भूमाफियाको प्रलोभन र दबाबमा सरकार पर्दैन । संसारभरिका राजधानीहरू अति सुन्दर हुन्छन्, वातावरणीय दृष्टिले, सांस्कृति र सभ्यताले व्यवस्थित हुन्छन् । काठमाडौं उपत्यकाको लामो इतिहास छ, संघीय राजधानीको रूपमा स्वच्छ, सफा र प्रदूषणमुक्त शहर बनाउन स्मार्ट सिटीको अवधारणा ल्याइएको हो’ मन्त्री नेम्वाङले भने, ‘स्मार्ट सिटी काठमाडौं उपत्यका विकास प्राधिकरण आफैंले बनाउने हो, सरकारको लगानी हुँदैन । हामीले नचाहेपनि प्रत्येक वर्ष काठमाडौंमा खाली रहेका जमिनमा अव्यवस्थित बस्ती बसेको छ । व्यवस्थित शहरी विकासका लागि स्मार्ट सिटी आवश्यक छ ।’

त्यसअघि नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले स्मार्ट सिटी कार्यान्वयमा भएको ढिलाइबारे प्रश्न गरेका थिए । यस्तै नेमकिपाका प्रेम सुवालले सरकार भूमाफियाको प्रभावमा परेर ऋण लिएर स्मार्ट सिटी बनाउन लागेको आरोप लगाएका थिए । 

‘टाउको नुहाएर मात्र हुँदैन, शरीरका अन्य अंग पनि सफा हुनुपर्छ । प्रदेशका राजधानीलाई सुन्दर बनाऔं, काठमाडौंमा स्मार्ट सिटी आवश्यक छैन,’ उनले भनेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्