१४ असार २०८३, आइतबार

गण्डकी प्रदेशमा एकपछि अर्को संक्रमित देखिए, अहिलेसम्मकै बढी ७७ जनामा कोरोना संक्रमण पुष्टि

असार ४, २०७७
गण्डकी प्रदेशमा एकपछि अर्को संक्रमित देखिए, अहिलेसम्मकै बढी ७७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा एकैदिन ७७ जना कोरोना संक्रमित देखा परेका छन् । एक–दुई गनेर बिरामी डिस्चार्ज गरी ‘ग्रिन जोन’ घोषणा गरेको गण्डकीलाई यही लयमा संक्रमित देखा पर्दै गए व्यवस्थापनमा कठिन हुने देखिन्छ । 

गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक सबै जिल्लामा कोरोना फैलिन गएको हो । बिहीबारमात्र हिमालपारीको जिल्ला मनाङमा कोरोना पुष्टि भएको हो । बिहीबारमात्रै ७७ जना नयाँ संक्रमित देखा परेका छन् । यो संख्या पछिल्लो २४ घण्टामा देखिएका संक्रमितमध्ये सबैभन्दा उच्च हो । योसँगै गण्डकीमा कुल संक्रमित ३ सय २४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

निर्देशनालयले बिहीबार जारी गरेको तेस्रो विज्ञप्तिअनुसार स्याङ्जा, पर्वत, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र बागलुङमा गरी कुल ३० जनामा संक्रमण देखा परेको हो । उनीहरु सबैजना भारतबाट फर्किएको र सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बस्दैआएको जनाइएको छ ।

स्याङ्जा आँधीखोला गाउँपालिकाका ७२ र ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । सोही गाउँपालिकाका वर्ष १३ र १९ का पुरुषमा समेत कोरोना देखिएको हो । स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाका ५ जना पुरुषमा समेत कोरोना देखा परेको छ । उनीहरु २१, ३३, २६, ३० र १८ वर्षका छन् । 

पर्वतको कुष्मा नगरपालिकाका २० वर्षीय पुरुष, फलेबासका वर्ष १९ र २२ तथा जलजला गाउँपालिकाका १६ वर्षीय पुरुषमा समेत कोरोना देखा परेको छ । 

तनहुँको व्यास नगरपालिकाका वर्ष ४२, २९ र २५ का पुरुष बागलुङ गलकोट नगरपालिकाका ३३ वर्षका पुरुष छन् । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाका ९ जना र विनयत्रिवेणी गाउँपालिकाका ४ जना पुरुषमा कोरोना पुष्टि भएको छ । हुप्सेकोटका वर्ष २० देखि ४० वर्ष उमेर समूहका छन् भने विनयत्रिवेणीका वर्ष २६, ३३, ३१र ३५ का पुरुष हुन् । 

यसैगरी, भरतपुर महानगरपालिकास्थित भरतपुर कोरोना विशेष अस्पतालमा गरिएको नमुना परीक्षणमा पर्वतकै थप ५ जनामा कोरोना देखा परेको छ । स्वास्थ्य निर्देशनालयले प्रेषित गरेको बिहीबारको दोस्रो विज्ञप्तिअनुसार कुश्मा नगरपालिकाका ४२ वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना पुष्टि छ । त्यस्तै, मोदी गाउँपालिकाका ३० वर्षीय पुरुष र फलेबास नगरपालिकाका वर्ष ३० र ३७ का २ पुरुषमा कोरोना देखा परेको हो ।

फलेबासका २ जना पुरुषहरु कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहँदैआएकोमा अन्य भने सम्बन्धित पालिकाकै क्वारेन्टाइनमा बस्दैआएका थिए । उनीहरु समेत सबैजना भारतबाट फर्केका हुन् । संक्रमितलाई कुष्मा नगरपालिकामा रहेको कोरोना अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए । 

यसैबीच, गण्डकीमा बिहीवार बिहान नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १८ जना, तनहुँमा १२ जना, गोरखामा ११ जना र मनाङमा १ जना गरी ४२ जनामा संक्रमण पुष्टि भएको थियो । 

यसअघि एकैदिन अवधिमा जेठ २५ मा गण्डकीमा ३८ जनासम्म व्यक्तिमा कोरोना देखिएको थियो । गण्डकीमा कुल संक्रमितमध्ये १ जनाको मृत्यु र २१ जना निको भएका छन् । 

गण्डकी प्रदेशअन्तर्गत बागलुङमा गत चैत दोस्रो साता नेपालकै पाँचौ संक्रमित भनिएकी १९ वर्षीया युवती र छैटौं भनिएकी ६५ वर्षीया महिलामा कोरोना देखिएको थियो । उनीहरु बैशाख दोस्रो साता डिस्चार्ज भएसँगै प्रदेश सरकारले ग्रिन जोन अर्थात कोरोना नभएको प्रदेश भनी घोषणा गरेको हो ।

 

salt training

कमेन्ट गर्नुहोस्