लिम्पियाधुरा सहितको नक्सा समेटेर तयार पारिएको नक्सालाई निशान छापमा समावेश गर्ने गरी पेश भएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको छ ।
यसअघि विधेयक प्रतिनिधि सभाबाट पारित भएको थियो । बिहीवार बिहान बसेको राष्ट्रियसभा बैठकमा विधेयकलाई निर्णयार्थ पेश गर्दा ५७ जनाले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका छन् ।
कूल ५९ सदस्यीय राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुनुपर्ने एक सिट खाली रहेको छ भने अध्यक्ष गणेश तिमिल्सिना मतदानमा सहभागी नभएपछि विधेयकको पक्षमा ५७ मत परेको हो ।
बैठकमा अध्यक्ष तिमल्सिनाले संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको घोषणा गरेका छन् । संशोधन विधेयकमाथिको दफावार छलफलपछि कानून, न्याय तथा संसदीय मामलामन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयक पारित गरियोस् भनेर प्रस्ताव पेश गरेकी थिइन् ।
यसअघि सरकारले लिम्पियाधुरा सहितको अद्यावधिक नक्सा मन्त्रिपरिषद्बाट पारित गरेर जारी गरेको थियो ।