चीन र पाकिस्तानसँग एकैचोटि युद्ध गर्न सक्छ भारतले ?

भारतीय सेनाले लामो समयदेखि दुई छिमेकी चीन र पाकिस्तानसँग फरक मोर्चामा युद्ध हुनसक्ने बताउँदै आएको थियो । राजनीतिकर्मीहरूलाई रक्षामा खर्च गराउनका लागि उसले यसो भन्ने गरेको थियो । 

अहिले आएर चाहिँ त्यो परिदृश्य यथार्थ बन्दै गएको देखिन्छ किनकि दुवै छिमेकीसँगको विवादित सीमामा तनावको स्थिति छ । 


Advertisement

लद्दाखमा चिनियाँ र भारतीय सैन्य कमान्डरबीचको वार्तामा खासै निष्कर्ष निस्केन । जुन १५ मा २० जना भारतीय अनि संख्या नखुलेका चिनियाँ सैनिकको मृत्यु हुने गरी भएको हिंस्रक भिडन्तपछि अनेकौं वार्ता भएका छन् । 

गलवान भिडन्त हुँदै गर्दा त्यहाँबाट लगभग ६६० किलोमिटर पर दक्षिण कश्मीरमा हतियार र विस्फोटक पदार्थहरू बरामद भए र दुई आतंकवादीहरू मारिए । 


Advertisement

भारतले सन् १९४७ मा बेलायती साम्राज्यबाट मुक्त भएदेखि चीन र पाकिस्तानसँग गरी चारवटा युद्ध लडिसकेको छ । तर उसले कहिले पनि एकैपटक दुईतर्फको सीमा प्रतिरक्षा गर्नुपरेको थिएन । 

कोरोनाभाइरस संक्रमण ह्वात्तै बढिरहेको बेलामा चीन र पाकिस्तानले नयाँ दिल्लीविरुद्ध सैन्य कारवाही चलाउन सक्ने चिन्ता भारतीय सेनाले लिएको छ । 

‘नयाँ दिल्ली अहिले चरम दबाबमा छ चाहे त्यो कोभिड–१९ का कारण होस् चाहे कश्मीरको नियन्त्रण रेखा वा चीनबाट होस्,’ अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक इयन हलले बताए ।

‘विगत केही वर्षयता इस्लामाबाद र बेइजिङसँगको सम्बन्ध थप बिग्रिएको छ । परिणामस्वरूप, मोदी सरकारको ध्यान अर्कैतिर रहेको बेलामा दुवैले महाव्याधिका बेलामा तनाव चर्काएका छन् ।’

भारतीय सेना विशाल छ र भैपरी आउने परिस्थितिलाई पनि उसले विचार गरिरहेको छ, भारतका एक वरिष्ठ सुरक्षा अधिकारीले नाम नखुलाउने शर्तमा बताए । तर योजना बनाएको भए पनि सैन्य स्रोतलाई दुईवटा मोर्चामा एकैपटक तैनाथ गर्दा सशस्त्र बलहरूमा बढी दबाब पर्छ । 

भारतका सेनाप्रमुखले यस्तो स्थितिका बारेमा चेतावनी दिएका छन् अनि सरकारलाई तथा कूटनीतिक वृत्तलाई यो रोक्नका लागि तयारी गर्न भनेका छन् । 

भारतीय सेनाले थप कूटनीतिक तथा सैन्य स्तरका वार्ताहरूको योजना बनेको बुधवार जनाएको छ । बेइजिङमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सैन्य तथा कूटनीतिक च्यानलमार्फत निकट संवाद कायम राख्ने र सीमामा परिस्थिति सहज बनाउने आशा चीनले लिएको बताए । 

चीनसँग तनाव चलिरहँदा भारत र पाकिस्तानबीच ७४२ किलोमिटर नियन्त्रण रेखा पनि उत्तिकै सक्रिय र तनावग्रस्त भएको छ । भारतीय सैनिकहरूले सीमापारिबाट हुने गोलाबारीको सामना गर्नुपरेको छ अनि प्रतिआतंकवादी कारवाहीमा पनि भाग लिनुपरेको छ ।

गर्मी महिनामा पाकिस्तान सीमामा हुने प्रतिआतंकवादी कारवाहीलाई मजबूती दिनका लागि थप सेना कश्मीर पठाइने गरेको भए पनि अहिले तिनलाई चीन सीमामा तैनाथ गर्नुपरेको छ । 

पाकिस्तान र चीनबीचको साँठगाँठ भएर पश्चिमी र उत्तरी सीमा एकैपटक तनावग्रस्त बनाउने योजना बनेको कुरालाई प्रमाणित गर्न त सकिँदैन तर त्यसलाई पूरै खारेज गर्न चाहिँ मिल्दैन, विपिन नारंगले भने । उनी अमेरिकाको एमआईटीमा राजनीतिशास्त्रीका सहप्राध्यापक हुन् र न्युक्लीयर स्ट्राटेजी इन द मोडर्न एरा : रिजनल पावर्स यान्ड इन्टरनेसनल कन्फ्लिक्टका लेखक पनि हुन् । 

‘पाकिस्तानले आफ्नो शक्तिका बारेमा जनतालाई देखाउनुपर्ने बेला आएको र भारतले पोहोर साल संवैधानिक हैसियत परिवर्तन गरेको जम्मु कश्मीरका विषयमा भारतलाई पनि देखाइदिने बेला भएको सोचेको हुन सक्छ जस्तो लाग्छ, उनले भने । इस्लामाबादले भारतको ध्यान अहिले अन्तै लागिरहेको बेलामा त्यसबाट फाइदा उठाउन सकिन्छ भन्ने अवसरवादी सोच राखेको पनि हुन सक्छ । 

चीनसँगको भिडन्त भारतका लागि बेइज्जतीको कुरा भएको महमुद दुर्रानीले बताए । उनी सेवानिवृत्त लेफ्टनेन्ट जनरल हुन् र पाकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार रहिसकेका छन् । ‘त्यसको परिणाम के हुन सक्छ भने आफ्नो शक्ति प्रदर्शन गर्नका लागि उनीहरूले चीनको कनिष्ठ साझेदार पाकिस्तानलाई केही गर्न सक्छन् । आफूहरू अझै बलियो रहेको जनतालाई देखाउन उनीहरू कुनै किसिमको कदम चाल्न सक्छन् । 
 

दुर्रानीले चीन तथा पाकिस्तानबीच संयुक्त रणनीतिक कदमको सम्भावना रहेको बताए । 

परिस्थिति जस्तोसुकै बने पनि दुवै सीमामा भारतका लागि निकै तनावपूर्ण र रक्तरञ्जित ग्रीष्मको सम्भावना देखिन्छ, नारंगले भने । 
 

ब्लूमबर्गबाट

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्