
कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सरकारले चैत ११ देखिको बन्दाबन्दी गएको बुधबारबाट अन्त्य गरेपछि सङ्क्रमणको चुनौती बढेको बताउन थालिएको छ । अबका दिनमा व्यक्ति नै सचेत भएर स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन नगरे कोरोना समुदायमा पुुग्ने विज्ञको भनाइ छ ।
विज्ञले बन्दाबन्दी अन्त्य भएसँगै कोरोना सङ्क्रमणको जोखिम बढ्ने हुँदा सतर्क रहन सुझाव दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम सुरु सुरुमा देखिएको कोरोना सङ्क्रमण अज्ञानताका कारण भएको भए पनि पछिल्ला दिनमा देखिएको सङ्क्रमण हेलचेक्र्याइँका कारण भएको बताउँछन् । आफूूभन्दा अरू सबैलाई कोरोना छ भन्ने मान्यताले व्यक्ति सचेत रहे कोरोना सर्न नसक्ने उनको सुुझाव छ ।
उनले घरबाट अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने, मास्कको नियमित प्रयोग गर्ने, साबुन पानीले नियमित हात हुने र मानिससँंग बस्दा तथा गफगाफ गर्दा दूरी कायम गर्न सके कोरोना सर्ने सम्भावना नरहने दाबी गरे ।
पछिल्लो समय देखिएको सङ्क्रमणमा बढी हेलचेक्र्याइँ देखिएको छ, त्यसैले डा. गौतमले लकडाउन खुल्यो भन्दैमा मानिस दिनमा १० पटक घरबाट निस्कने, रेस्टुरेन्टमा गएर रमाइलो गर्ने, जमघट गर्ने गरेकै कारण पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्या बढ्ने खतरा छ भने। उहाँले घरको एक सदस्य बाहिर गएर घरमा कोरोना ल्याउने र ऊसँग कोरोना जित्न सक्ने क्षमता हुुन सक्छ तर उसैले हजुरबाबा, हजुरआमालाई रोग सार्दछ, त्यो अझ बढी खतरा हुन्छ भने।
जनस्वास्थ्यविद् तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बन्दाबन्दी खुलेसंँगै कोरोनाको जोखिम बढेको भन्दै सचेत रहन सुुझाव दिन्छन्। उनले तराईका वीरगञ्ज, राजविराज लगायतका स्थानमा समुदायमा सङ्क्रमण फैलिएर निषेधाज्ञा जारी गर्नुपरेको भन्दै काठमाडौंमा पनि त्यही अवस्था आउन सक्नेतर्फ सचेत गराए । डा. मरासिनीले भारतसँग सीमा जोडिएको विहारमा सङ्क्रमण दर हजारौँको सङ्ख्याले बढेको अवस्थामा नेपाल सुरक्षित हुन नसक्ने उल्लेख गरे । यो अवस्थामा मानिस आफैँ सतर्क हुनुपर्नेमा जोड दिए ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बन्दबन्दी खुलेको तर कोरोनाको चुनौती हटेको होइन । मानिसको भीडभाड बढेसँगै कोरोना समुदायमा जान सक्ने खतरा छ र कोरोनाबाट बच्न अब व्यक्ति नै सचेत हुुनुुपर्छ भने। गोरखापत्र दैनिकमा सरोज ढुुङ्गेलले खबर लेखेका छन् ।