२४ जेठ २०८३, आइतबार

वीरेन्द्रनगरको बजेट खर्च प्रणालीमा सुधार हुँदै, सबै वडाका खाता रोक्का

साउन १२, २०७७
वीरेन्द्रनगरको बजेट खर्च प्रणालीमा सुधार हुँदै, सबै वडाका खाता रोक्का

वीरेन्द्रनगर नगरपालिका कर्णालीको एकमात्र सुगम नगरपालिका हो । यो पालिका प्रदेश राजधानीसमेत भएको पालिका भएको र राजनीतिक नेतृत्व अन्य पालिकाको तुलनामा अब्बल भएका कारण संघीयताको अभ्यास गर्न भन्दै वडामा वर्षेनी बजेटको निकासा दिन थाल्यो ।

आर्थिक वर्ष २०७४/०७५ देखि वडामा वडा सचिवले सञ्चालन गर्ने गरी खातामा खोल्न लगाइयो । सो खातामा वडाका योजनाको बजेट पठाइयो । यस कार्यबाट वास्तविक रुपमा संघीयताको कार्यान्वयन वीरेन्द्रनगरले सुरू गरेको भन्ने प्रचार भयो । खाता सञ्चालन भएको दुई वर्षमा नै नगरपालिकाले वडा कार्यालयका खाता रोक्का गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार महालेखा परीक्षकको कार्यालयले वडा पालिकाबाट निकासा दिएको बताउँदै बेरुजु निकालेपछि बाध्य भएर खाता बन्द गर्नुपरेको बताउँछन् ।

‘साना साना कार्यक्रमका लागि नगरपालिकामा नै सेवाग्राहीको भीड बढाउन हामीले  चाहेका थिएनौं । वडा कार्यालयले दिएको बील भरपाइलाई महालेखा परिक्षकको कार्यालयले हेर्नै नमानेपछि बेरुजुमा उक्त रकम राखियो । जसले गर्दा बाध्य भएर हामीले वडा कार्यालयको खाता बन्द गर्ने निर्णय गरेका हौं,’ उनले भने ।

उनले वडा कार्यालयमा लेखाको दरबन्दी र अधिकृत स्तरको कर्मचारी भएको खण्डमा मात्रै खाता चिन्ने महालेखाले भनेको बताए । सोही अनुसार गतवर्ष पेश्की मात्रै दिएका कारण थोरै मात्रै बेरुजु आएको उनले बताए । ‘यद्यपी गत आर्थिक वर्षमा केही वडाका खाता बन्द नभएका कारण तीन करोड १३ लाख ४० हजार बेरुजु आएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा वडा नं. ४, ६, ९, १०, ११, १२ लगायतले खाता सञ्चालन गरेका थिए,’ उनले भने ।

उनका अनुसार साउन 2 गतेदेखि नै सबै खाता बन्द गर्न लिखित निर्देशन दिइसकिएको छ ।

विगतका वर्षमा हरेक वडामा दामासाही तरिकाले बजेट बाँड्ने गरिएपनि यो वर्ष न्यूनतम एक करोड प्रति वडा विनियोजन गरिएको थियो । बजेट तर्जुमा दिग्दर्शनमा दामासाही रुपमा बजेट वितरण गर्न  नपाइने भएपनि यसअघि गरिँदै आएकोमा यो वर्ष देखि दिग्दर्शनकै आधारमा बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

‘राजश्व संकलनको योगदान, जनसंख्या, सेवाग्राहीको चाप हेरेर थप बजेट वडामा विनियोजन गरेका छौं । जसमा एक करोड ७८ हजार देखि एक करोड ५५ लाखसम्म बजेट गएको छ,’ उनले भने, ‘वडामा गएको यो बजेट वडाबाट छनौट भएका योजनाका लागि हो । हामीले तोकेर पठाएको बजेट सिलिङ अनुसार ती योजनामा बजेट गएको हो ।’

कुन वडामा कति बजेट ?

आर्थिक वर्ष २०७७/०७८ का लागि वीरेन्द्रनगर नगरपालिकाले वडामा विकासका काम गर्न भन्दै २० करोड बढी बजेट विनियोजन गरेको छ ।  एक अर्ब ४२ करोड ९९ लाख ९१ ह्जार ८२३ कूल बजेट ल्याएको नगरपालिकाको चालू  बजेट ९० करोड छ । यो वर्ष गत वर्षको मौज्दात २३ करोड ७६ लाख रहने अनुमान नगरपालिकाले गरेतापनि त्यो अधिकांश बजेट खर्च हुँदा नगरपालिकाले घाटा बजेट ल्याएको हो ।

वडाको विकासका लागि वडा नं. १ मा एक करोड २८ लाख ३० हजार, २मा १ करोड २३ लाख ४६ हजार, तीनमा एक करोड ३७ लाख २ हजार, ४मा १ करोड १५ लाख, ५मा १ करोड ८ लाख ७० हजार, ६मा १ करोड ५५ लाख २० हजार बजेट विनियोजन भएको छ ।

त्यस्तै वडा नं. ७ मा १ करोड १५ लाख २४ हजार, ८ मा १ करोड ११ लाख ४६ हजार, ९ मा १ करोड २७ लाख १५ हजार, १० मा १ करोड ३३ लाख ७५ हजार, ११ मा १  करोड २१ लख ८४ हजार, १२ मा १ करोड २० लाख, १३ मा १ करोड ४ लाख ९२ हजार, १४ मा १ करोड २ लाख ८५ हजार, १५ मा १ करोड ९३ हजार र १६ मा १ करोड ७८ हजार बजेट गएको छ ।

नगरपालिकाका उपप्रमुख एवं कार्यवाहक प्रमुख मोहनमाया ढकालले नगरपालिकाको बजेट खर्च प्रणालीलाई महालेखा परिक्षकको कार्यालयका निर्देशन अनुसार सुधार गरिएको बताइन ।

‘विगतमा देखाइएको बेरुजुलाई कार्यालयसँग बिल भरपाई हेरी बेरुजु फर्छ्यौट गरिदिन अनुरोध गर्छौं,’ उनले भनिन्, ‘आगामी वर्षदेखि हामी यस्तो गल्ती दोहार्‍याउँदैनौं । वडाका नागरिकले सानो योजनाको भुक्तानी लिन धेरै दुःख नपाउन भन्ने हिसाबले र नजिकको सिंहदरबारको आभाष नागरिकलाई होस् भन्ने चाहेर त्यो निर्णय गरेका थियौं । तर बेरुजु निकालिने भएका कारण हामी त्यो अभ्यासबाट एक कदमपछि फर्केका छौं ।’

अब नगरपालिकाबाटै नागरिकलाई थप सेवा सुविधा तीव्र रुपमा दिलाउन लागिपर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्