३१ असार २०८३, बुधबार

आईसीयूमा राखेको २० दिनपछि कोरोना संक्रमित पुरुषको मृत्यु

साउन २७, २०७७
आईसीयूमा राखेको २० दिनपछि कोरोना संक्रमित पुरुषको मृत्यु

कोरोना संक्रमणका कारण धनुषामा ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलवार बिहान ३ बजे मृत्यु भएको छ ।

प्रादेशिक अस्पताल जनकपुरको कोभिड अस्पतालको आईसीयू कक्षमा उपचार गराइरहेका धनुषाको बिदेह नगरपालिकाका पुरुषको मृत्यु भएको आइसोलेसन संयोजक डा. जामुनप्रसाद सिंहले बताए ।

करीब २० दिनअघि उनी प्रादेशिक अस्पतालको आईसीयू कक्षमा भर्ना भएका थिए । ‘खकार परीक्षण गर्दा शुरूमा उनलाई क्षयरोगको किटाणु देखा परे पनि उनलाई प्रादेशिक अस्पतालको आईसीयू कक्षमा राखेर उपचार गरेका थियौं,’ डा. सिंहले भने, ‘त्यसपछि कोरोनाको समेत परीक्षण गर्दा ८ दिनअघि कोरोना पोजेटिभ देखा परेको थियो ।’

कोरोना पोजेटिभ आएपछि बिरामीलाई कोभिड अस्पतालको आईसीयूमा भर्ना गरिएको उनले बताए । ‘निमोनिया समेत बढ्दै गएको थियो र मिर्गाैलामा समेत खराबी देखा पर्न थालेको थियो,’ उनले भने, ‘पछिल्लो २ दिनदेखि अवस्था अत्यन्त गम्भीर हुन थालेपछि परिवारजनलाई समेत जानकारी गराएका थियौं ।’

शवलाई प्रादेशिक अस्पतालमा नै राखिएको छ । शव व्यवस्थापनका लागि नेपाली सेनाको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए । 

प्रादेशिक कोभिड अस्पतालमा ८ शय्याको आईसीयू रहेको तथा १ थान भेन्टिलेटर रहेको भए पनि भेन्टिलेटर र आईसीयू भरिएका कारण थप सिकिस्त बिरामीलाई भर्ना गर्न समस्या भएको उनले बताए । हाल कोभिड अस्पतालमा ४२ वटा शय्या रहे पनि ५३ जना बिरामी भर्ना भएका छन् । ३६ जना कोरोना संक्रमित बिरामीमा लक्षण समेत देखा परेको उनले बताए । 

जनकपुरस्थित कोभिड आइसोलेसनमा मिर्गाैलाका बिरामीको डाइलायसिस गर्ने मशिन जडान गर्न काठमाडौंबाट प्राविधिक टोली पुगेको छ । मंगलवार मशिन जडान भएपछि कोरोना संक्रमित मिर्गाैलाका बिरामीको डाइलायसिस समेत गर्न सकिने सिंहले बताए । 

salt training

कमेन्ट गर्नुहोस्