
पोखरास्थित क्षेत्रीय हुलाक निर्देशनालयको घरजग्गा प्रदेश मातहत ल्याउन पहल थालिएको छ ।
गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पोखरा–७ शहीदचोकस्थित १ हजार ५४२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको जग्गा र सो जग्गामा बनेको भवन प्रदेश सरकारलाई उपभोगका लागि स्वीकृत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गत भदौ ३ गते बसेको बैठकको निर्णय सोमवार सुनाउँदै सो जानकारी दिएका हुन् ।
यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेशस्तरीय बेरुजु फर्छ्यौट, अनुगमन तथा मूल्यांकन गर्ने समिति गठन गरेको छ । प्रमुख सचिवको संयोजकत्वमा गठित समितिका सदस्यमा आर्थिक मामिला सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासन हेर्ने सचिव र प्रमुख प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रमुख गरी ४ सदस्यीय समिति गठन गरिएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्राविधिक दरबन्दीका लागि रिक्त ५२ जना सवइन्जिनीयर र इन्जिनीयर राख्न स्वीकृत गरेको छ । सरकारले गत वर्ष पनि ८८ जना सवइन्जिनीयर र इन्जिनीयरहरू प्रक्रिया पुर्याएर दरबन्दी गरेको थियो ।
पोखरा–२७ लेखनाथस्थित सरुवा रोग अस्पतालमा १०० शय्या राख्नका लागि आवश्यक सृदृढीकरण र साधनस्रोत संघीय सरकारसँग माग गर्ने निर्णय गरिएको छ । प्रदेश सरकारले गत महिना साविक लायन्स सामुदायिक अस्पताललाई कोभिड–१९ लक्षित गरी सरुवा रोग अस्पतालको रुपमा विकास गरेको हो ।