२९ असार २०८३, सोमबार

अप्टिकल फाइबर परियोजना अलपत्र

भदौ ९, २०७७
अप्टिकल फाइबर परियोजना अलपत्र

शुरूवाती समयदेखि नै सुस्त रहेको देशभर अप्टिकल फाइबर बिछ्याउने (सूचना महामार्ग) परियोजना कोभिड–१९ का कारण थप सुस्त बनेको छ । सूचना मार्गका तीनवटा परियोजनामध्ये दुईको काम सुरु भएको छैन । एउटा परियोजनाको काम सुरु भएको १६ महिनासम्म पनि प्रगति १४ प्रतिशत मात्रै छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले तीन प्याकेजटमा वर्गीकरण गरी अप्टिकल फाइबर बिछ्याउन तीनवटा सेवा प्रदायकलाई जिम्मेवारी दिए पनि दुईवटा प्याकेजको काम सुरु भएको छैन । एउटा प्याकेजको काम निकै सुस्त गतिमा अघि बढेको छ ।

सूचना महामार्गको पहिलो प्याकेजअन्तर्गत नेपाल टेलिकमले प्रदेश १ देखि ३ सम्मका जिल्ला सदरमुकाम छुने गरी अप्टिकल फाइबर बिछ्याउने कामको जिम्मा पाएको थियो । टेलिकमले विभिन्न कम्पनीलाई यो कामको जिम्मा दिए पनि १६ महिना बित्दासमेत परियोजनाको प्रगति १४ प्रतिशत मात्रै छ । टेलिकमले दुई वर्षमा सक्ने लक्ष्य लिएको भए पनि परियोजना समयमै सकिन असम्भवजस्तै बनेको छ ।

मध्यपहाडी लोकमार्ग हुँदै सबै जिल्ला सदरमुकाम छुने गरी टेलिकमले २ हजार १ सय किलोमिटरभन्दा बढी अप्टिकल फाइबर बिछ्याउनुपर्ने भए पनि साउन मसान्तसम्म जम्मा २ सय ९८ किलोमिटर अप्टिकल फाइबर मात्रै बिछ्याइएको दूरसञ्चार प्राधिकरणले जनाएको छ । टेलिकमले असार मसान्तसम्म २ सय ७३ किलोमिटर अप्टिकल फाइबर बिछ्याएको प्राधिकरणको तथ्यांक थियो । जेठसम्म टेलिकमले २ सय ५९ किलोमिटर अप्किटल फाइबर बिछ्याएको थियो ।

कोभिड–१९ महामारीका कारण सामान आयात नभएको र कामदारको अभावका कारण काम झन् सुस्त भएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल स्विकार्छन् । ‘टेलिकमले आफूले गरिरहेको काम कोभिड–१९ महामारीका कारण प्रभावित भएको भनेर हामीलाई जानकारी गराइसकेको छ,’ उनले भने, ‘दुई वर्षमा सकिनुपर्ने परियोजना समयमै सकियोस् भन्ने हाम्रो चाहना हो । तर सकिएन भने के गर्ने भनेर प्राधिकरणले निर्णय गर्न बाँकी छ ।’

प्राधिकरणले दुई वर्षसम्म काम सक्ने गरी ०७३ असोज १२ गते टेलिकमलाई यो प्याकेजको ठेक्का बिनाप्रतिस्पर्धा दिएको थियो । टेलिकमले साढे दुई वर्ष लगाएर ठेक्का प्रक्रिया पूरा गरी ०७६ जेठ पहिलो सातादेखि अप्टिकल फाइबर बिछ्याउने काम सुरु गरेको थियो । अप्टिकल फाइबर बिछ्याउन, सामान खरिद गर्न टेलिकमले ५ वटा कम्पनीलाई जिम्मा दिएको छ । प्राधिकरणले प्याकेज ३ अन्तर्गत कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि अप्टिकल फाइबर बिछ्याउन टेलिकमलाई नै जिम्मा दिएको छ । यसअघि स्मार्ट टेलिकम प्रालिलाई जिम्मा दिइएको भए पनि २ वर्षसम्म काम नै सुरु नगरेपछि मन्त्रिपरिषद्ले स्मार्टबाट परियोजना खासेर टेलिकमलाई दिने निर्णय गरेको हो । यो निर्णय भएको करिब एक वर्ष हुन लाग्दा पनि परियोजनाको ठेक्का लाग्न बाँकी छ । प्याकेज तीनअन्तर्गत १ हजार ९ सय ९२ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्ने हुन्छ ।

प्राधिकरणका अनुसार टेलिकमले प्याकेज नम्बर ३ का लागि माइक्रोवेब ट्रान्समिसन नेटवर्क र एडीएसएस अप्टिकल फाइबर नेटवर्कका लागि बोलपत्र आह्वान गरी खरिद प्रक्रिया अघि बढाएको भए पनि कोभिड–१९ महामारीका कारण प्रक्रियामा ढिलाइ भएको छ । प्याकेज २ अन्तर्गत कर्णाली र प्रदेश ५ का सबै जिल्ला सदरमुकाम छुने गरी प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेडलाई कामको जिम्मा दिएको भए पनि यसको प्रगति शून्य छ ।

यो प्याकेजअन्तर्गत २ हजार १ सय ६० किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्ने भए पनि यो परियोजनामा हालसम्म कुनै प्रगति भएको छैन । 

परियोजनाको ठेक्का पाएको दुई वर्षसम्म पनि कुनै काम नगरी बसेको युनाइटेडबाट प्राधिकरणले परियोजना खोस्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा दायर गरेका कारण यो परियोजनाका विषयमा प्राधिकरणले कुनै निर्णय गर्न सकेको छैन । यो परियोजनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । प्राधिकरणले सूचना महामार्गका लागि कुल ९ अर्ब ८९ करोड रुपैयाँमा तीनवटा प्याकेजको सम्झौता गरेको छ ।

अप्टिकल फाइबर बिछ्याउने कम्पनीले नै त्यसको मर्मत सम्भार गर्ने र अन्य सेवा प्रदायकलाई भाडामा दिने गरी प्राधिकरणले अप्टिकल फाइबर बिछ्याउन जिम्मा दिएको हो । ग्रामीण दूरसञ्चार कोषको प्रयोग गरी सञ्चालित सूचना महामार्ग परियोजनामा यो कोषमा रकम जम्मा गर्ने सेवा प्रदायकहरूबीच प्रतिस्पर्धा गराइएको थियो । नेपाल टेलिकमलाई प्याकेज १ को जिम्मा दिँदा भने प्रतिस्पर्धा गराइएको थिएन । ग्रामीण क्षेत्रमा दूरसञ्चार पूर्वाधारको विकास गर्ने उद्देश्यसहित यो कोष स्थापना गरिएको हो । दूरसञ्चार सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकहरूले आफ्नो वार्षिक आयको २ प्रतिशत रकम यो कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ ।

यही कोषको रकम प्रयोग गरी सञ्चालित ब्रोडब्यान्ड इन्टरनेट परियोजनामा भने ६६ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ । यो परियोजनाअन्तर्गत सबै जिल्लाका ग्रामीण भेगमा रहेका सार्वजनिक स्थल र सरकारी कार्यालयमा दुई वर्षसम्म निःशुल्क इन्टरनेट जडान गर्ने योजना छ । यो परियोजनाअन्तर्गत १६ हजार ६ सय सार्वजनिक स्थल र सरकारी कार्यालयमा इन्टरनेट जडान गर्ने योजना छ ।

साउन मसान्तसम्म १० हजार ३ सय ६८ स्थानमा इन्टरनेट जडान गरिएको प्राधिकरणले बताएको छ । ५ अर्ब २६ करोडको यो परियोजनालाई १८ वटा प्याकेजमा बाँडेर प्राधिकरणले सेवा प्रदायकहरूबीच प्रतिस्पर्धा गराएर कामको जिम्मा दिइरहेको छ । यो परियोजनाका लागि हालसम्म २ अर्ब ४६ करोड ४६ लाख खर्च भएको प्राधिकरणले जनाएको छ । कान्तिपुर दैनिकमा विजय तिमल्सिनाले खबर लेखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्