०२ साउन २०८३, शनिबार

कोरोनाको डरलाग्दो ‘मृत्यु परिदृश्य’ : उपचार नपाएर मर्दैछन् दीर्घरोग नभएका युवा

भदौ १६, २०७७
कोरोनाको डरलाग्दो ‘मृत्यु परिदृश्य’ : उपचार नपाएर मर्दैछन् दीर्घरोग नभएका युवा

गत शुक्रवार राति पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भयो । भदौ ५ गते स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेज प्रभासमा भर्ना भएकी ती युवतीमा कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण देखिएर पीसीआर जाँच गर्दा उनमा कोभिड–१९ संक्रमण पुष्टि भयो ।

यहीँ भदौ ७ गते रूपन्देहीको सम्मरीमाई गाउँपालिका–२ का ३८ वर्षीय युवाको बुटवलको कोभिड अस्पतालमा मृत्यु भयो । अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापा ती युवामा कुनै दीर्घरोग नभएको बताउँछन् ।

‘उहाँको कुनै यात्रा विवरण पनि देखिएको थिएन । श्वासप्रश्वासमा समस्या देखिएर पीसीआर जाँच गर्दा संक्रमण देखिएपछि यहाँ ल्याउँदा अवस्था ‘क्रिटिकल’ थियो । सोही दिन नै भेन्टिलेटरमा राखेका थियौं । ५ दिनमै उहाँको निधन भयो,’ डा. थापाले भने ।
 
भदौ ९ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय युवाको पनि कोरोनाबाटै निधन भयो । उनको पनि कुनै ‘ट्राभल हिस्ट्री’ र मृत्यु अगाडि कुनै स्वास्थ्यमा समस्या थिएन । फोक्सामा निमोनिया देखिएका ती युवाको संक्रमणले अवस्था जटिल बनाएपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरको भेन्टिलेटरमा राखेको ३ दिनमा निधन भयो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले भने, ‘निमोनिया देखिएर अस्पताल भर्ना भएका युवामा संक्रमण पुष्टि भएको ३ दिनमै मृत्यु भयो ।’

यी उदाहरण पछिल्ला केही दिनयता ५ नम्बर प्रदेशमा युवावस्थामै मृत्यु भएका अवस्था हुन् । प्रदेशमा मृत्यु हुने दीर्घरोगी र बढी उमेर समूहका भन्दा युवापुस्ता बढी देखिएपछि त्रास बढेको छ ।

हालसम्म प्रदेशका १२ जिल्लामध्ये १० जिल्लामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । जसमध्ये रुपन्देही ८, बाँकेमा ६, गुल्मीमा ३, कपिलवस्तुमा ३, पाल्पामा २, दाङमा २, अर्घाखाँची २, बर्दियामा १, प्युठानमा १ र पश्चिम नवलपरासीमा १ जना छन् । मृत्यु हुनेमध्ये ५० प्रतिशत ५० वर्षमुनिका र कुनै दीर्घरोग नभएकाहरू रहेको मृत्युको तथ्यांकले देखाउँछ । 

कुन जिल्लामा कुन–कुन उमेरका मृत्यु ?

गुल्मी –
जेठ ८ गते ४१ वर्षीय पुरुष 
जेठ ३२ गते ३६ वर्षीय पुरुष
असार ४ गते ६९ वर्षीय पुरुष
पाल्पा –
जेठ २० गते ३१ वर्षीय पुरुष
भदौ १३ गते ३० वर्षीया महिला
दाङ –
जेठ २५ गते ५९ वर्षीय पुरुष
असार १२ गते उमेर नखुलेकी महिला
अर्घाखाँची –
जेठ २८ गते ५७ वर्षीय पुरुष
जेठ ११ गते ३६ वर्षीय पुरुष
बाँके –
असार २ गते ४६ वर्षीय पुरुष 
भदौ ११ गते ७० वर्षीय पुरुष
जेठ ४ गते २५ वर्षीय पुरुष
साउन २४ गते ७० वर्षीय पुरुष
भदौ १ गते ६२ वर्षीय पुरुष
भदौ ९ गते ३७ वर्षीय पुरुष
कपिलवस्तु –
साउन २८ गते ४२ वर्षीय पुरुष 
साउन ३१ गते ४२ वर्षीय पुरुष
भदौ ११ गते ५० वर्षीय पुरुष
पश्चिम नवलपरासी –
भदौ २ गते ३८ वर्षीय पुरुष
रुपन्देही –
असार २० गते ७५ वर्षीय पुरुष
भदौ ३ गते ७० वर्षीय पुरुष 
भदौ ७ गते ५३ वर्षीय पुरुष
भदौ ७ गते ३६ वर्षीय पुरुष
भदौ ८ गते ७० वर्षीया महिला
भदौ १२ गते ६० वर्षीय पुरुष
भदौ १४ गते ६७ वर्षीय पुरुष
भदौ १५ गते ६७ वर्षीया महिला
प्यूठान –
भदौ ५ गते ६४ वर्षीय पुरुष
बर्दिया –
भदौ २ गते ७८ वर्षीय पुरुष

आईसीयू र भेन्टिलेटर नपाएर मृत्यु हुने अवस्था

आइतवार बुटवलमा मृत्यु भएका ६७ वर्षीय पुरूषलाई भेन्टिलेटर वा आईसीयू आवश्यक थियो । तर यहाँ कोभिड अस्पतालका आईसीयू शय्या बिरामीले भरिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले चितवन रिफर गरेको थियो । तर परिवारले लैजान नसक्ने अवस्था आएपछि उनलाई आइसोलेसनमा अक्सिजन दिएर राख्दा निधन भयो ।

डा. थापाले भने, ‘संक्रमित वृद्ध आईसीयू चाहिने अवस्थाका हुनुहुन्थ्यो । तर यहाँका सबै शय्या भरिएको हुँदा चितवन रिफर गरेका थियौं । परिवारले लैजान नसक्दा दिउँसो निधन भयो ।’ गम्भीर बिरामीले आईसीयू नपाएर मर्नुपर्ने अवस्था देखिएको छ । ५ नम्बर प्रदेशमा हाल भेन्टिलेटरमा उपचाररत २ जना संक्रमित छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक डा. सागर न्यौपानले युवा र दीर्घरोग नभएकाहरू पनि कोरोना संक्रमणबाट मृत्यु हुने खतराको संकेत देखेका छन् । ‘कम उमेरको व्यक्तिमा पनि सानो उमेरमा नियोनिया लगाएर अन्य समस्या भएकाहरूलाई पनि यो रोगले चाडो असर पुर्‍याउँछ । अब व्यक्ति आफै सचेत भएर यो रोग नियन्त्रण र आफू पनि बच्नुपर्ने आवश्यकता हो,’ उनले भने ।
  
बुटवलको कोरोना विशेष अस्पतालमा १६ वटा मात्रै आईसीयू शय्या छन् । भैरहवामा रहेको भीम अस्पतालमा आईसीयूका ५ शय्या भए पनि आईसीयू सञ्चालन गर्न सक्ने स्वास्थ्यकर्मी नहुँदा सञ्चालन हुन सकेको छैन । 

अक्सिजन सहितका ८० वटा आइसोलेसन शय्या थप्ने योजना

समुदायस्तरमै संक्रमण र मृत्यु बढेपछि प्रदेशका कोरोना विशेष अस्पतालमा अक्सिजन सहितका आइसोलेसन शय्या (हाइडिपेन्डेन्सी युनिट) थपिने भएका छ ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले ४ वटा कोभिड अस्पतालमा रहेका ८० वार्डलाई अक्सिजन सहितका आइसोलेसन शय्यामा परिणत गर्न लागेको जानकारी दिए । ती शय्या छिट्टै सञ्चालनमा आउने उनले बताए ।

बुटवल कोरोना विशेष अस्पतालमा कूल ५४ शय्या रहने छन् । त्यसमा १८ आईसीयू, अक्सिजन सहितका २० आइसोलेसन र १६ सामान्य आइसोलेसन शय्या रहनेछन् । जसमा ९ विशेषज्ञ चिकित्सक, १७ मेडिकल अफिसर र ११४ नर्सिङ स्टाफसहित १७८ जनाको टोली खटिने छ । भीम अस्पताल भैरहवामा २७ शय्या रहने छन् । जसमा ५ आईसीयू, अक्सिजन सहितका १३ आइसोलेसन र ९ सामान्य आइसोलेसन बेड रहने छन् । अस्पतालमा ६ विशेषज्ञ चिकित्सक, १५ मेडिकल अफिसर र ४३ नर्सिङ स्टाफसहित ८४ जनाको टोली खटिने जनाइएको छ । 

दाङको कोरोना अस्पतालमा ११३ शय्या रहने छन् । जसमा १० आईसीयू, अक्सिजन सहितका १७ आइसोलेसन र ८५ सामान्य आइसोलेसन शय्या रहने छन् । अस्पतालमा १२ विशेषज्ञ चिकित्सक, ३५ मेडिकल अफिसर र ६९ नर्सिङ स्टाफसहित १३७ जनाको टोली खटिने छ । नेपालगञ्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ६० शय्या रहने छन् । जसमा १० आईसीयू, अक्सिजन सहितका ३० आइसोलेसन र २० सामान्य आइसोलेसन शय्या रहने जनाइएको छ । अस्पतालमा १२ विशेषज्ञ चिकित्सक, २६ मेडिकल अफिसर र ९४ नर्सिङ स्टाफसहित १५४ जनाको टोली खटिने छ ।

salt training

कमेन्ट गर्नुहोस्