२१ असार २०८३, आइतबार

राजेन्द्र-सुरेन्द्रः फरक व्यक्तित्वका चर्चित दाजु-भाइ नेता

कात्तिक २०, २०७४
राजेन्द्र-सुरेन्द्रः  फरक व्यक्तित्वका चर्चित दाजु-भाइ नेता
एमालेका दोस्रो पुस्ताका उदीयमान नेता राजेन्द्र पाण्डे र सुरेन्द्र पाण्डे सहोदर दाजुभाइ हुन् । पार्टी स्थायी समिति सदस्य सुरेन्द्र र पोलिटब्युरो सदस्य राजेन्द्र दुवै एक–एकपटक मन्त्री भइसकेका छन् ।rajendra-and-surendra
कुशल संगठकको व्यक्तित्व बनाएका सुरेन्द्र र संसदीय फाँटमा प्रभावशाली राजेन्द्र पार्टीको आन्तरिक समीकरणमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपालनिकट मानिन्छन् । धादिङको गजुरीमा निम्नमध्यमवर्गीय परिवारमा जन्मिएका राजेन्द्र पाँच दाजुभाइमा जेठा र उनीभन्दा चार वर्ष कान्छा सुरेन्द्र माइला हुन् । गाउँकै प्राथमिक विद्यालयमा अध्ययन गरेका दाजुभाइले चितवनबाट एसएलसी (प्रवेशिका) परीक्षा उत्तीर्ण गरेपछि काठमाडौंमा ‘कलेज लाइफ’बाट राजनीति सुरु गरेका हुन् ।

२०३१ सालमा सिक्किम भारतमा विलय भएको विरोधमा विद्यार्थी आन्दोलन सुरु भएपछि सरस्वती क्याम्पसमा अध्ययनरत राजेन्द्र पाण्डे आन्दोलनमा सक्रिय बने । त्यही क्रममा पक्राउ परेर सेन्ट्रल जेलमा राखिएका राजेन्द्र केपी ओलीसहित तत्कालीन झापा आन्दोलनका अगुवाहरूको संगतबाट कम्युनिस्ट आन्दोलनमा थप आकर्षित भए । र, जेलबाट छुटेपछि राजनीतिमा थप सक्रिय बने ।
पञ्चायतविरोधी आन्दोलनमा दाजुको सक्रियता र विद्यार्थीहरूको जागरुकताबाट प्रभावित बन्दै गएका सुरेन्द्र भने त्यतिवेला अध्ययन सकेर जागिर खाने सपना बुन्दै थिए ।
विद्यार्थी आन्दोलनमा लाग्दै गर्दा राजेन्द्र दोस्रोपटक पक्राउ हुँदा तीन वर्ष जेल परे । पढाइ सकेर राम्रो जागिर खाने उनको योजना एकाएक मोडियो । ‘बुबाले तिमीहरू राजनीति गर्ने, म खर्च पठाउन सक्दिनँ भनेपछि आइकम सकेर धादिङ फर्केर शिक्षक बनें,’ उनले भने, ‘घरायसी बाध्यताले केही समयपछि नेपाल बैंकमा जागिर खाएँ, त्यही सिलसिलामा नेपालगन्ज पुगेँ, तर त्यसबाट समाज र राष्ट्रका लागि कुनै योगदान हुँदैन भन्ने निष्कर्षपछि पार्टीसँगको सम्पर्कमा २०३४ सालबाट पूर्णकालीन हुँदै भूमिगत भएँ ।’ पढाइमा मेधावी सुरेन्द्र चार्टर्ड एकाउन्टेन्टको सरकारी छात्रवृत्ति त्यागेर तत्कालीन मालेको भूमिगत राजनीतिमा होमिएका थिए । उता, जेलबाट रिहा भएपछि राजेन्द्र भने जिल्ला फर्किएर शिक्षकका रूपमा राजनीतिमा सक्रिय बने ।

भूमिगत नहुँदा दाजु पञ्चायत सभापति, भाइ कुशल संगठक
२०३५-३६ सालतिर प्रतिबन्धित मालेको कार्यकर्ता बनेर भूमिगत बन्नु चानचुने कुरा थिएन, त्यो पनि काठमाडौंको नेवार बस्तीमा । स्थानीय भाषा, संस्कृति, रहनसहनदेखि जनतासँगको घनिष्टताका आधारमा पञ्चायतको आँखा छल्दै भूमिगत जीवन कठिन भएकाले जेलबाट रिहा भएपछि ६ महिना काठमाडौंमै भूमिगत काम गरेर राजेन्द्रले जिल्ला जाने निधो गरे । खासमा उनीसँग ठूलो जनसमूह (मास) लाई प्रभाव पार्न सक्ने क्षमता त थियो, तर भूमिगत शैली अपनाएर पूर्णकालीन हुनसक्ने स्थिति नभएपछि पार्टीको परामर्शमा २०३४ साल फागुनमा जिल्ला फर्किएर शिक्षण पेसासँगै राजनीति अघि बढाए ।
जिल्ला फर्किएपछि उनी धादिङमा भूमिगत रूपमा मालेका संस्थापक सचिव तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बनेर काम गरे । पार्टीले २०४३ सालको राष्ट्रिय पञ्चायत चुनावमा उम्मेदवार बनायो । तर, थोरै मतले पराजित उनी २०४४ सालमा जिल्ला पञ्चायत सभापतिमा विजयी बने । ‘मैले सधैँ भूमिगत पार्टीको खुला कार्यकर्ताजस्तो भएर काम गरेँ, त्यसक्रममा तीनपटक राजकाज मुद्दासहित १९ पटक जेल परेँ,’ राजेन्द्रले स्मरण गर्दै भने ।
उता, सुरेन्द्र भने भूमिगत राजनीति सुरु गरेको दुई वर्षभित्रै २०३६ देखि ०४६ सालमा एक दशक काठमाडौंको सचिव बने । काठमाडौंको नेवारी बस्तीका प्रत्येक टोलदेखि काँठ क्षेत्र (काठमाडौं वरिपरिका गाउँ) का हरेक वडामा सक्रिय भूमिगत राजनीति गर्दै सुरेन्द्रले ५ सय पूर्णकालीन कार्यकर्ता तयार गरेर तत्कालीन मालेको संगठन निर्माण गरे । उनकै नेतृत्वमा मालेको संगठन बनेकाले पार्टीले लामो समय नेतृत्व सुम्पिएको थियो काठमाडौंमा । त्यही संगठनको जगमा २०४८ सालको पहिलो आमनिर्वाचनमा उपत्यकाका नौमध्ये एमालेले ७ सिट जित्न सफल भयो । तत्कालीन एमाले महासचिव मदन भण्डारी काठमाडौंबाटै विजयी बने । त्यतिवेलैदेखि आजपर्यन्त सुरेन्द्र पार्टीभित्र कुशल संगठकका रूपमा परिचित छन् ।


दाजु संसदमा, भाइ संगठनमा प्रभावशाली
२०४८ सालयता राजेन्द्र एमालेबाट निरन्तर २१ वर्ष सांसदको रूपमा संसदीय भूमिकामा छन् । निरन्तर चुनाव जित्ने नेतामध्ये एमालेमा उनी अपवादभित्र पर्छन् । त्यति मात्रै होइन, उनी त्यसयता क्रमशः पार्टीको संसदीय विभाग, विभाग सचिव, सचेतक, प्रमुख सचेतक र संसद्मा सभामुखलाई सल्लाह दिने कार्यव्यव्यवस्था समितिमा २१ वर्षदेखि छन् । संसद्मा स्थानीय विकास निर्माण र राजनीतिक मुद्दामा उनको प्रस्तुति धारिलो र विचारउत्तेजक हुने समकालीनहरू बताउँछन् ।
उता, सुरेन्द्र भने पार्टीको आन्तरिक संगठनमा निक्कै प्रभावशाली मानिन्छन् । उपत्यकामा १० वर्षभन्दा बढी नेतृत्व गरी मदन भण्डारीसहितका नेतालाई जिताएर पार्टीलाई उपत्यकामा वर्चश्वमा पु¥याएको, बागमती अञ्चल, कर्णाली अञ्चल, कोसी अञ्चलमा पार्टीको काम माथि उठाएकोदेखि अखिलमा तत्कालीन अध्यक्ष योगेश भट्टराई र महासचिव भानुभक्त ढकालबीच चर्को विवाद हुँदा पार्टीका तर्फबाट समाधानको सूत्र निकाल्ने कुशल संगठकका रूपमा सुरेन्द्र परिचित छन् ।
दाजु उद्यममा, भाइ उद्यमका ‘आर्किटेक्ट’
पाण्डे दाजुभाइले एमाले पंक्तिमा ‘भिजनरी’ नेताको समेत परिचय बनाएका छन् । करिब २० वर्षदेखि राजेन्द्रले पहिलो कम्युनिस्ट प्रधानमन्त्री स्व.मनमोहन अधिकारीको नाममा सहकारी र अस्पताल सञ्चालन गर्दै आएका छन् । एकपटक स्थानीय विकासमन्त्री बनेका राजेन्द्र स्थानीय विकासको मामिलामा पनि विज्ञ मानिन्छन् । सफल अर्थमन्त्रीको छवि बनाइसकेका सुरेन्द्र भने पार्टीमा आर्थिक मामिलाका जानकार मानिन्छन् । पुँजीवादी क्रान्ति सम्पन्न भइसकेकाले समाजवादतर्फको यात्राका लागि पुँजीको विकास र आर्थिक समृद्धिका सन्दर्भमा उनले देशभर पार्टी कार्यकर्तालाई प्रशिक्षणसमेत दिँदै आएका छन् । -नयाँ पत्रिका

कमेन्ट गर्नुहोस्