
काठमाडौं । बुधबार रातिसम्म विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड नजिक पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार बुधबार अबेरसम्म संक्रमितको संख्या २ करोड ९८ लाख ५९ हजार नाघेको छ भने मृतकको कुल संख्या ९ लाख ४१ हजार २०० नाघेको छ । यस्तै हालसम्म निको हुनेको संख्या पनि २ करोड १६ लाख बढी छ ।
हालसम्मको तथ्यांकअनुसार अमेरिका सबैभन्दा धेरै प्रभावित रहेको छ भने त्यसपछि भारत, ब्राजिल, रुस, पेरु, कोलोम्बिया, मेक्सिको, साउथ अफ्रिका, स्पेन र अर्जेन्टीना रहेको छ । अमेरिकामा मात्रै संक्रमितको संख्या ६७ लाख ९८ हजार बढी रहेका छन् भने भारतमा पनि कोरोना संक्रमितको संख्या ५१ लाख नजिक पुगेको छ । यस्तै नेपालमा भने संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । संक्रमित संख्याको आधारमा नेपाल विश्वको ५२ औं स्थानमा रहेको छ ।