
रसबरी अत्यधिक बिक्री हुने मिठाइ हो । मधुमेह भएका मानिसलाई बाहेक अन्य सबैलाई रसबरी स्वाद लिईलिई खान मन लाग्छ ।
स्वादिलो रसबरीले रोगप्रतिरोधक क्षमता समेत बढाउँदा त सुनमा सुगन्ध भयो । भारतका कमल कुमार अग्रवालले विभिन्न फल र सागपात उपयोग गरेर रोगप्रतिरोधक क्षमता सहितको रसबरी बनाइरहेका छन् ।
यस्ता रसबरीमा फल र सागपात जति नै पोषक तत्त्व रहेको उनको दाबी छ । अनि शुद्ध दूधबाट बनेकाले रसबरी आफैंमा पोषिलो भएको उनी बताउँछन् ।
कमल कुमारले करेला र हरियो खुर्सानी राखेर समेत रसबरी बनाउने गरेका छन् ।
झारखण्डको राँचीमा फलफूल र सागपात भएको रसबरी खुबै मन पराइएको छ ।
रसबरी बनाउनका लागि फलफूल र सागपातको फ्लेवर उपयोग गरिने उनी बताउँछन् । फलफूल र सागपातको गुदी निकालेर फाटेको दूधको छेनामा मिसाइन्छ । अनि त्यसलाई सामान्य रसबरी झैं तयार पारिन्छ । गुदीलाई फ्लेवर आउने जति गरी मात्र राखिन्छ ।
यस्ता रसबरीलाई फ्रीजमा नराखी २४ घन्टासम्म राख्न सकिन्छ ।