०४ असार २०८३, बिहीबार

बागलुङमा १० फरार प्रतिवादी पक्राउ

असोज १४, २०७७
बागलुङमा १० फरार प्रतिवादी पक्राउ

बागलुङ प्रहरीले विभिन्न मुद्दामा दोषी ठहर भई अदालतबाट सजाय तोकिएका १० फरार प्रतिवादीलाई मंगलवार पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनका लागि उनीहरूलाई मंगलवारै जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ पर्नेमा चोरी मुद्दाका फरार ढोरपाटन नगरपालिकाका ३२ वर्षीय प्रकाश थापा छन्त्याल, लागूऔषध मुद्दामा निसीखोला गाउँपालिकाका दिलकुमारी घर्ती, सार्वजनिक अपराध मुद्दामा बोहोरागाउँका ३२ वर्षीय यामबहादुर घर्ती र सवारी ज्यान मुद्दामा दर्लिङका ३३ वर्षीय बलिराम गुरुङ रहेका छन् ।

सवारी ज्यान मुद्दामा बागलुङ नगरपालिका–१३ का ४२ वर्षीय गणेश रिजाल, सार्वजनिक अपराधमा वडा नम्बर ७ का ३५ वर्षीय यामबहादुर क्षेत्री, काठेखोला गाउँपालिकाका २२ वर्षीय सुजन थापा, २५ वर्षीय सौरभ राना र चोरी मुद्दामा काठेखोलाकै १७ वर्षीय २ जना पक्राउ परेका हुन् ।

चोरी मुद्दामा पक्राउ परेका प्रतिवादी ढोरपाटन नगरपालिकाका छन्त्याललाई अदालतले विक्रम संवत् २०६७ भदौ १३ गते २ महिना ७ दिन कैद फैसला गरेको थियो । सवारी ज्यान मुद्दाका फरार बानपा–१३ का रिजाललाई अदालतले विक्रम संवत् २०६६ असार ३१ गते ४ महिना १७ दिनको कैद सुनाएको थियो । 

ज्यान मुद्दामा पक्राउ परेका दर्लिङका ३३ वर्षीय गुरुङलाई भने विक्रम संवत् २०७६ पुस २२ गते २ हजार जरिवानासहित जम्मा ५ दिन कैद फैसला गरेको थियो । अन्य प्रतिवादी भने न्यूनतम ८०० रुपैयाँदेखि बढीमा ७ हजार ५७५ रुपैयाँसम्म जरिवानाको सजाय पाएका छन् । 

अदालतले कैद/जरिवाना तोके पनि सजाय भुक्तान नगरी घरमै लुकीछिपी बसेका प्रतिवादीलाई पक्राउ गरिएको जिप्रकाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए । कैद सजाय तोकिएकालाई अदालतको आदेशले कारागार चलान गरिएको उनको भनाइ छ ।

‘अदालतबाट फरार सूचीमा रहेका ४२५ जनालाई पक्राउ गर्नू भनी पत्र आएको छ, हामीले खोजतलास तीव्र पारेका छौं,’ प्रनाउ रेग्मीले भने । पहिले धरौटीमा छुटे पनि अदालतले अन्तिम फैसला गरेपछि प्रतिवादीहरू सम्पर्कमा नआई लुकीछिपी बस्ने गरेका उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्