नवलपुरमा पहिलोपटक पीसीआर मशिन तर कोरोना परीक्षण हुन १ महिना लाग्ने

विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ परीक्षणका लागि नवलपुर जिल्लामा पहिलो पटक पीसीआर मशिन भित्रिएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु जिल्ला अस्पताल डण्डामा रहने गरी संघीय सरकारले शनिवार पीसीआर मशिन हस्तान्तरण गरेको हो । 


Advertisement

जिल्लामा पीसीआर मशिन नहुँदा चितवन, पोखरा लगायतका स्थानमा लगेर कोभिड–१९ को परीक्षण गर्नुपर्ने अवस्थामा मशिन भित्र्याइएको हो । मशिन भित्र्याइएको भए पनि यसलाई जडान गरेर नियमित सञ्चालनमा ल्याउन १ महिना लाग्ने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

मशिनका लागि स्थान र जनशक्ति व्यवस्थापन, मशिनको गुणस्तर परीक्षण लगायत काम बाँकी रहेकाले गर्दा पीसीआर मशिन सञ्चालनका लागि कम्तिमा १ महिना लाग्ने चापागाईको भनाइ छ । 


Advertisement

जिल्लामा संक्रमणको दर बढिरहेको अवस्थामा संघीय सरकारका तर्फबाट उपलब्ध गराइएको पीसीआर मशिन सांसद तिलक महतले अस्पतालका अध्यक्ष डा. गोपाल खनाललाई हस्तान्तरण गरे । पीसीआर मशिन आएपछि अब रिपोर्टका लागि धेरै दिन कुर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै सांसद महतले यसले कोभिड विरुद्धको लडाइँलाई अझै सहज बनाउने बताए ।

कार्यक्रममा महतले जिल्ला अस्पताललाई स्तरोन्नति गर्दै जिल्लामैै सबै सेवा उपलब्ध गराउनतर्फ आफूले संघीय सरकारसँग पहल गरिरहेको बताए ।

नयाँ मशिनले १ पटकमा ९०–१०० वटा नमूनाको परीक्षण गर्न सक्ने क्षमता रहेको अध्यक्ष खनालले बताए । उनका अनुसार सो मशिनबाट दैनिक ४००–५०० नमूनाको परीक्षण गर्न सकिने छ । हाल नवलपरासीपूर्वमा संक्रमितको संख्या १ हजार २९९ पुगेको छ । 

संक्रमितमध्ये ८५० जना निको भएका छन् भने १० जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्