काठमाडौं, २९ वैशाख– चीनले अगाडि सारेको ‘वान बेल्ट वान रोड’ (ओबीओआर) अवधारणामा नेपालले हस्ताक्षर गरेको छ ।
नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव शंकर दाश बैरागीले उक्त अवधारणमा हस्ताक्षर गरेका हुन् । शुक्रबार विहान परराष्ट्र मन्त्रालयमा भएको कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्र सचिव बैरागी र चिनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरेका हुन् ।
अर्थमन्त्री महराले यो समझदारी नेपालका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उक्त समझदारीले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने पनि महराको भनाइ छ । यस्तै परराष्ट्रमन्त्ती महतले यो समझदारी दुई देशको सम्बन्धमा महत्वपूर्ण कदम भएको बताए ।
अघिल्लो सोमबार बसेको मन्त्रिपरिषद बैठकले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहमति जनाउँदै हस्ताक्षर गर्ने निर्णय गरेको थियो ।
तीन वर्षअघि सुरु भएको यो परियोजनामा हालसम्म १०० भन्दा बढी मुलुकले समर्थन जनाएका छन् भने ४० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संगठनले सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । यसलाई राष्ट्रसंघले समेत अनुमोदन गरिसकेको छ ।
अहिलेसम्म यो परियोजनाका लागि १० खर्ब डलरभन्दा बढीको लगानी प्रतिबद्धता जनाइसकिएको छ । यस परियोजनालाई ४० खर्ब अमेरिकी डलरको कोष भएको चीनको अगुवाईमा खोलिएको एशियाली पूर्वाधार लगानी बेङ्कको समर्थन रहेको छ।
केही समय अघि चीन भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले ओबीओआरमा हस्ताक्षर गर्ने बचन दिएका थिए । त्यसअनुसार प्रचण्ड सरकारको कार्यकालको अन्त्यतिर ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने निर्णय भएको हो ।
‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर भएसँगै चीनले नेपालमा सडक, रेल सञ्जाल विस्तारमा आर्थिक सहायता उपलब्ध गराउनेछ ।