
नेपाली श्रमिकको प्रमुख गन्तव्य साउदी अरबले रोजगारीको करार अवधि सकिएपछि रोजगारदाता कम्पनीको अनुमतिबिना स्वदेश फर्कन पाइने व्यवस्था गरेको छ । यसलाई आउँदो मार्च १४ देखि कार्यान्वयनमा ल्याउने साउदी सरकारले जनाएको छ । साउदीमा झन्डै ३ लाख ५० हजार नेपाली कार्यरत छन् ।
त्यहाँको मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार राष्ट्रिय परिवर्तन कार्यक्रमअन्तर्गत ‘श्रम सुधार पहल’ को घोषणा गरेको हो । मन्त्रालयका अनुसार करार अवधि समाप्त भइसकेपछि साउदीबाट बहिर्गमन हुन अहिलेजस्तो रोजगारदाताको बाध्यकारी अनुमति चाहिँदैन । करार अवधि भने पूरा गर्नुपर्छ ।
करार कति वर्षसम्मको हुन्छ भन्ने निर्धारण गरिएको छैन । नेपाल सरकारले दुई वर्षका लागि मात्रै श्रमस्वीकृति प्रदान गर्ने गरेको छ ।
करार अवधि सकिएपछि श्रमिकले आफूले चाहेको अर्को कम्पनीमा काम गर्न पनि पाउनेछन् । साउदी श्रम कानुनले यसअघि रोजगारदाताको सहमतिबेगर कम्पनी परिवर्तन गर्न पाइने व्यवस्था गरेको थिएन । नेपाली द्तूावासमा दिनमा ८० जनाले घर फिर्न नपाएको भन्दै रोजगारदाताविरुद्ध उजुरी दिने गरेका छन् । स्वदेश फिर्ती तथा कम्पनी परिवर्तनमा सहजीकरण गर्न भन्दै साउदीले रोजगारदाता र श्रमिकबीच भएको करारपत्र ‘डिजिटल’ मा राख्ने घोषणा गरेको छ ।
अन्तर्राष्ट्रिय समुदायले रोजगारदाता परिवर्तन गर्न नपाइने र करार अवधि समाप्त भएपछि पनि स्वदेश फिर्न नमिल्ने व्यवस्थाका कारण रोजगारदाताले श्रमिकलाई जबर्जस्ती श्रममा राख्दै आएको आरोप साउदीमाथि लगाउने गरेको छ । अन्तर्राष्ट्रिय समुदायले साउदीले आप्रवासी श्रमिकमाथि अध्यागमन कानुनलाई प्रभावकारी कार्यान्वयन गरे पनि श्रम कानुनलाई कार्यान्वयन गर्न चुकेको बताउँदै आएको छ ।
साउदी सरकारले नयाँ सुधारसँगै तलब संरक्षण प्रणाली, श्रम विवाद समाधान र श्रमिकलाई सचेतना गर्ने कार्यक्रम पनि ल्याएको छ । खाडी क्षेत्रका श्रमिकको मानवअधिकारको अध्ययन गर्दै आइरहेकी ह्युमन राइट्स वाचकी रोधना वेगमले साउदीले अझै कफला प्रणालीलाई नहटाएको बताइन् । ‘आप्रवासी श्रमिकलाई रोजगारीका लागि साउदी आउन अझै स्पोन्सरसिप चाहिन्छ । उनीहरूको आवासीय अवस्थालाई रोजगारदाताले अझै नियन्त्रणमा राखेको छ,’ उनले भनिन् ।
रियादस्थित नेपाली दूतावासका अनुसार दूतावासमा आउने सबैभन्दा ठूलो समस्या नै तलब नपाउने र घर फर्कन नपाउने श्रमिकको उजुरी पर्ने गरेको छ । साउदीमा कम्तीमा ५० हजार नेपाली गैरकानुनी हैसियतमा छन् । साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले साउदी सरकारले ल्याएको सुधार नेपाली श्रमिकका लागि अर्थपूर्ण भएको बताए । कान्तिपुर दैनिकमा होम कार्कीले खबर लेखेका छन् ।