३१ असार २०८३, बुधबार

प्रधानमन्त्रीले शिलान्यास गरेका २८ वटा परियोजना, निर्माण कार्य उत्साहजनक भएको दावी

कात्तिक २४, २०७७
प्रधानमन्त्रीले शिलान्यास गरेका २८ वटा परियोजना, निर्माण कार्य उत्साहजनक भएको दावी
तस्वीर सौजन्य : गोरखापत्र दैनिक

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दोस्रो कार्यकालमा शिलान्यास गरेका सबै परियोजनाको निर्माण कार्य सफलपूर्वक अगाडि बढिरहेको छ ।

कतिपय परियोजनाको निर्माण कार्य सम्पन्न भई उद्घाटन भइसकेको छ भने कतिपय परियोजनाको निर्माण कार्य अन्तिम चरणमा छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेको परियोजना प्रमुखसँगको निरन्तर प्रगति समीक्षा तथा परियोजनाको अनुगमन र सहजीकरण गर्दा शिलान्यास गरिएका ती परियोजना अगाडि बढ्न सम्भव भएको जनाइएको छ ।

ओली दोस्रो कार्यकालका लागि २०७४ फागुन ३ गते प्रधानमन्त्री भएका थिए । दोस्रो कार्यकालमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनले अहिलेसम्म २८ वटा परियोजनाको शिलान्यास गरेका छन् । शिलान्यास गरिएका परियोजना सफल रूपमा अगाडि बढेको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले जानकारी दिए ।

प्रधानमन्त्री भएपछि उनले महाराजगञ्ज शिक्षण अस्पताल अन्तर्गत रहेको मनमोहन सेन्टर एनेक्स भवनको २०७४ फागुन १८ गते पहिलो शिलान्यास गरेका थिए । गत कात्तिक १९ गते सो भवनको उद्घाटन उनले गरिसकेका छन् ।

त्यसैगरी २०७४ फागुन २५ गते दोस्रो शिलान्यास गरिएको पाँच सय शैया क्षमताको वीर अस्पताल सर्जिकल भवनको निर्माण कार्य अन्तिम चरणमा छ । त्यसैगरी २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको मुलुककै पहिलो आधुनिक सुरुङ मार्ग नागढुङ्गा–सिस्नेखोलाको निर्माण शुरू भइसकेको छ ।

त्यसैगरी २०७५ पुस १२ गते शिलान्यास गरिएको ऐतिहासिक धरहराको निर्माण कार्य तीव्र रूपमा अगाडि बढाइएको छ । कुल २२ तलामध्ये १७ तलाको ढलान सम्पन्न भइसकेको छ ।

त्यसैगरी गत वर्ष असोजमा शिलान्यास गरिएको सिंहदरबारस्थित संसद् भवनको निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको छ । त्यस्तै ललितपुरको भैँसेपाटीस्थित मुख्यमन्त्री निवास र प्रदेश प्रमुखको भवन निर्माण, बालुवाटारस्थित प्रधानमन्त्री निवास भवन लगायतको निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको थपलियाले बताए  ।

विकास व्यवस्थापन विज्ञ थपलियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भइरहेको परियोजनाको निरन्तरको समीक्षा, अनुगमन र सहजीकरण गर्दा परियोजनाको निर्माण प्रगति उत्साहजनक रहेको बताए । गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्