
काठमाडौं, ३० वैशाख– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि हुने स्थानीय तहको चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गन सम्पूर्ण मतदाताहरुमा अपिल गरेका छन् ।
आज एक अपिल जारी प्रधानमन्त्री प्रचण्डले नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसरका रुपमा यस निर्वाचनलाई लिन सकिने भन्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने कडी भएको बताएका छन् ।
अपिलमा भनिएको छ, ‘ यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने कडीका रुपमा रहेको छ भने अर्कातिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोशेढुंगाका रुपमा लिन सकिन्छ ।’ अपिलमा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पु¥याउनका लागि ढोका खुला हुनेछ ।’
प्रधानमन्त्री प्रचण्डले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले आफ्नो तर्फबाट सबै उपाय अपनाएको छ भने नेपाल सरकारले पनि आफ्नो तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखेको बताएका छन् । मूलतः शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको उनले बताएका छन् ।
सबै मतदातालाइ यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र संकोच विना निर्धक्क भई आफूले चाहेका उम्मेदवारहरुलाई मत खसाल्न प्रधानमन्त्री प्रचण्डले आग्रह गरेका छन् ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन यही बैशाख ३१ गते (भोलि) हुदैंछ । भोलि प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा १३,५५६ जनप्रतिनिधि छनोट हुनेछन् ।

