३१ असार २०८३, बुधबार

पार्टी कमिटीलाई 'हुल्लडबाज' र 'सडकछाप' भनेको छैन - ओली

कात्तिक २८, २०७७
पार्टी कमिटीलाई 'हुल्लडबाज' र 'सडकछाप' भनेको छैन - ओली
फाइल तस्वीर

प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूले केन्द्रीय कमिटीलाई सडकछाप र स्थायी कमिटीलाई हुल्लडबाज नभएको प्रष्ट पारेका छन् । गत कात्तिक २५ गते अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पत्र लेख्दै हुँदै नभएको कुरा बाहिर प्रचार गरेको आरोप लगाएका हुन् ।

'यतिसम्म झुट प्रचार भएको छ बाहिर, मैले भन्दै नभनेका कुराहरू बाहिर सम्प्रेषित गरिएको छ,' ओलीले लेखेको पत्रमा उल्लेख छ ।

ओलीले सरकार संचालनसम्बन्धी सबै जस र अपजस आफूले लिने बताएका छन् ।

उनले सरकार संचालनको प्रक्रियामा अध्यक्ष प्रचण्डसँग नियमित छलफल गरेकोसमेत प्रष्ट पारेका हुन् ।

'मेरो भागमा परेको सरकार संचालनसम्बन्धी सबै कामको जस-अपजसको जिम्मा मै लिन्छु,' उनले पत्रमा भनेका छन्, 'पार्टीको नीतिगत निर्देशनको आलोकमा अध्यक्ष प्रचण्डसँग नियमित सल्लाह गरेरै सरकार संचालन गर्दै आएको छु । कहीं कतै कमी भएको भए खुला छलफल गरौँ र सच्याऔं ।'

ओलीले आफूले आफ्नो भागमा परेको कामको जिम्मेवारी आफैंले लिएको तर अन्य नेताहरूलाई दिइएको जिम्मेवारी भने पूरा नभएको आरोप लगाए ।

कार्यकारी अध्यक्ष प्रचण्डलाई उनले पत्रमार्फत सोधेका छन्, 'कार्यकारी अधिकारसहित पार्टी संचालनको जिम्मा पाउनुभएको अध्यक्ष कमरेडले आफ्नो भागमा परेको कामका सन्दर्भमा के गर्नुभयो ? एकीकरणको काम कहाँ पुग्यो, रोडम्याप के बन्यो ? मेरा कारणले हुन नसकेको भए यहाँले गर्नुभएको गृहकार्यमा मेरो अवरोध कहाँ रह्यो ?'

ओलीले आफ्नो आलोचना गर्दा नीति, विधि पद्धतिको कुरा उठ्ने तर मान/अभिमान, नियुक्ति र भर्तीका विषयमा बहस गर्ने, आक्रोश पोख्ने र चित्त दुखाउनेभन्दा अरू कुनै विषयमा छलफल गर्न कसैको रुची नभएको पनि आरोप लगाएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्