
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डमाथि राजनीतिक अस्थिरताको सन्देश दिन खोजेको आरोप लगाएका छन् ।
अध्यक्ष प्रचण्डले भारत भ्रमणका क्रममा आलोपालो प्रधानमन्त्री हुने सहमतिबारे ‘खुलासा’ गरेको सन्दर्भ कोट्याउँदै ओलीले प्रचण्डमाथि प्रश्न गरेका छन् ।
शनिवारको नेकपा सचिवालय बैठकमा प्रस्तुत ओलीको लिखित जवाफको बुँदा नम्बर १३ मा लेखिएको छ, ‘जेठ ३, २०७५ मा सम्पन्न एकताको ऐतिहासिक घोषणाले पार्टी पंक्तिमा र आम जनतामा समेत ठूलो उत्साहको सिर्जना गर्यो । हामीले एकीकरणका बाँकी काम तीन महिनामा सक्ने अठोटका साथ सबै कमिटी भङ्ग गर्यौं । दुई वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने गरी केन्द्रीय कमिटी, स्थायी कमिटी, सचिवालय सहित केही कमिटी मनोनयन गर्यौं । तर एकीकरणका काम अझै पूरा भएका छैनन् । किन हुन सकेनन्, म पछि छलफल गर्ने छु । तर निर्वाचन परिणाम, नयाँ सरकार गठन र एकीकरणले ल्याएको उत्साहमा चिसो पानी खन्याउने गरी तपाईंले आफ्नो भारत भ्रमणको क्रममा आलोपालो प्रधानमन्त्रीको सहमति भएको ‘खुलासा’ गर्नुभयो । यसबाट राष्ट्रिय स्वाधिनता, हित र स्थायीत्वमाथि गम्भिर प्रतिकूल असर पर्दैन ? त्यही कुरा अभिव्यक्त गर्नु थियो भनेपनि त्यसभन्दा अघि वा पछि समय उपलब्ध हुन सक्दैन थियो र? विदेशी भूमिमा गएर राजनीतिक अस्थिरताको सन्देश दिनु पर्ने खण्डखातिर किन पर्यो, मैले आजसम्म पनि तपाईंलाई सोधेको छैन । तर के त्यसको कुनै गंभीर अर्थ थिएन र ? त्यस यता तपाईंले कतिचोटि मन्त्रिपरिषद् पुनर्गठनको घोषणा गर्नुभएको छ, कतिचोटी सरकार परिवर्तनको खुल्ला अभिव्यक्ति दिनुभएको छ र कतिचोटी छिटै आफू सरकारको नेतृत्वमा आउने भएको हुनाले कतिपय विषय पछि सल्टाउँला भन्दै मित्र राष्ट्रसँगका कतिपय विषयलाई अल्झाउनु भएको छ, सम्झना गर्नुभएको छ नि ? एकलव्य जस्तै खालि सरकारमा मात्रै तपाईँको ध्यानदृष्टि र प्रधानमन्त्री र सरकारको स्थायित्व विरुद्ध निरन्तर रागका कारण राजनीतिक स्थिरता विरुद्ध कस्तो सन्देश गइरहेको छ, ख्याल गर्नुभएको छ नि ?’