प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पाँचै वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गरिएकोे, तर आफूले त्यस अवसरलाई लत्याएर ठूलो त्याग गरेको र केपी ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको भन्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई सत्तालिप्साको संज्ञा दिएका छन् ।
तत्कालीन नेकपा (एमाले) सँग सरकार बनाउन १५ सिट अपुग भएको र आफूलाई प्रधानमन्त्री प्रस्ताव गरेको सही भए पनि त्यो महान् त्याग नभएको ओलीको टिप्पणी छ ।
‘२०७४ फागुन ७ गते राति ‘दुई अध्यक्ष र आलोपालो प्रधानमन्त्री’को लिखतमा सही नहुञ्जेल सरकारले पूर्णता पाउने वातावरण बनेन । एउटै चुनावी घोषणा पत्रसहित वाम गठबन्धन बनाएर चुनाव लडेको पार्टीका नेताको हैसियतमा तपाईंले अर्को पार्टीको समर्थनमा प्रधानमन्त्री बन्ने प्रयास गर्नु नैतिकताको कसीमा कहाँनिर उभिन पुग्थ्यो ?’ शनिवार सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा ओलीले प्रचण्डसँग प्रश्न गरेका छन्, ‘चुनावबाट तेस्रो पार्टीका रूपमा आएको पार्टीका अध्यक्षले ‘मैले प्रधानमन्त्री बन्न प्राप्त अवसर लत्याएँ’ भन्नु त्याग थियो कि तपाईंभित्र सुषुप्त रूपमा लुकेको सत्तालिप्सा ?’
ओलीले ‘महान् त्याग’को कुरा गर्नु अगाडि निर्वाचन परिणाम के थियो भनेर स्मरण गर्न प्रचण्डलाई सुझाएका छन् । ओलीले सचिवालयमा पेश गरेको ५३ बुँदे जवाफमा प्रचण्डले लगाएका आरोपको १–१ जवाफ दिइएको छ । प्रचण्डले कात्तिक २८ गते ओलीमाथि आरोप लगाउँदै सचिवालयमा एक प्रतिवेदन पेश गरेका थिए ।