२८ असार २०८३, आइतबार

विश्वभरका पर्यटक भित्रिनेगरी पशुपति क्षेत्रको विकास हुन्छः मन्त्री भट्टराई

मंसिर १७, २०७७
विश्वभरका पर्यटक भित्रिनेगरी पशुपति क्षेत्रको विकास हुन्छः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले पशुपति क्षेत्रको विकास गरेर विश्वभरका धार्मिक पर्यटक भित्र्याउने बताएका छन् । उनले पशुपति क्षेत्रलाई सबै धार्मिक पर्यटकको आकर्षणको केन्द्रबिन्दु हुनेगरी संरचना विकास गरिने बताए । 

पशुपति क्षेत्र विकास कोष र एभरेष्ट बैंकले आज संयुक्त रुपमा आयोजना गरेको वातावरणमैत्री शवदाहगृह हस्तान्तरणका अवसरमा उनले प्रस्तावित गुरुयोजनालाई अन्तिमरुप दिन मन्त्रालयले प्राविधिक समिति गठन गरेको जानकारी दिए । 

समितिले स्थानीयवासीलगायत सरोकार निकायसँग छलफल गरी तीन महिनाभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने छ । 
 
‘मन्त्रिपरिषद्ले स्वास्थ्य सुरक्षाका विधि अपनाएर धार्मिक, सांस्कृतिक सम्पदालाई खुला गर्ने निर्णय गरेको छ, कोरोना सङ्क्रमण नफैलने गरी कोषले दर्शनार्थीलाई मन्दिर प्रवेश गराउनेछ’, उनले भने । 

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रमा शवदाह गर्नेको सङ्ख्या बढ्न थालेकाले विभिन्न संघसंस्थासँगको सहकार्यमा शवदाहगृह बढाउन लागिएको बताए । 

थपियो वातावरणमैत्री शवदाह गृह
  
वातावरणमैत्री शवदाहगृहमा १०० देखि १५० केजी दाउरामा शव जलाउन सकिने छ । हाल भष्मेश्वर र आर्यघाटमा शव जलाउँदा कम्तीमा ४०० केजी दाउरा लाग्ने गरेको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।  
 
बैंकले ७५ लाखको लागतमा शवदाहगृह निर्माण गरी आज कोषका सदस्य सचिव ढकाललाई हस्तान्तरण गरेको हो । शवदाहगृह हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले कम दाउरा लाग्ने र वातावरणमैत्री भएकाले यसको माग देशभर भइरहेको बताए । 

बैंकले यसअघि पोखरा र भैरहवामा पनि यस्तै शवदाहगृह निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको जनाइएको छ । यो शवदाहगृहमा शव जलाउन पनि कम समय लाग्नेछ । एकदेखि सवा घण्टामा शव जलाइसकिने कोषले जनाएको छ । भष्मेश्वरघाटतिर भने एउटा शव जलाउन कम्तीमा पनि तीन घण्टा लाग्छ । 
 
यो यन्त्रमा शवदाहबाट निस्कने धुवाँ  भिजेको चिम्नी हुँदै जाने व्यवस्था मिलाइएकाले बाहिर पुग्नुअघि नै शुद्धीकरण भइसक्ने बैंकका प्रमुख कार्यकारी अधिकृत नेगीले बताए । 

पशुपति क्षेत्रको आर्यघाट र भष्मेश्वर घाटमा गरी १८, विद्युतीय शवदाह गृहमा दुई, वातावरणमैत्री एक गरी तीनवटा शवदाहगृह सञ्चालनमा छन् । विद्युतीय शवदाहगृहमा एउटा यन्त्र थप्ने तयारी भइरहेको कोषले जनाएको छ ।
 
कोभिड–१९ बाट निधन भएकाको शव विद्युतीय शवदाहगृहमा जलाउने गरिएको छ । आजैदेखि सञ्चालनमा आएको वातावरणमैत्री शवदाह गृहमा पनि कोभिड –१९ बाट निधन भएकाको शव जलाउने तयारी भएको कोषले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्