
खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणमा एकै आर्थिक वर्ष रु ८७ लाख बढी दुरुपयोग भएको पाइएको छ । मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिका नाममा जाली कागजात बनाएर सामाजिक सुरक्षा भत्ता वितरणमा दुरुपयोग भएको देखिएको हो ।
भत्तामा अनियमितता भएको विषय बाहिरिएपछि गाउँपालिका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा गठित छानविन समितिले आर्थिक वर्ष २०७६÷०७७ भित्र रु ८७ लाख ४१ हजार ६०० रकम दुरुपयोग भएको प्रतिवेदन सार्वजनिक गरेको छ । सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा गत असोज १४ गते गठित समितिले तयार पारेको प्रतिवेदन गाउँपालिका प्रमुख अर्जुनकुमार खड्कालाई बुझाएको छ ।