
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुट्न नसक्दा दिउँसो १ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक अझै शुरू हुन सकेको छैन ।
अध्यक्ष ओली र प्रचण्डबीच दोस्रो पटक पनि छलफल भएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न पौने ४ बजेसम्म औपचारिक रूपमा शुरू हुन सकेको छैन । बैठक शुरू नभएपछि स्थायी कमिटी सदस्यहरू अलपत्र परेपछि छुट्टाछुट्टै समूह बनाएर बसेका छन् ।
‘बैठक शुरू हुने अपेक्षामा हामी बसिरहेका छौं,’ स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले लोकान्तरसँग भने ।
अध्यक्ष ओली बैठकमा सहभागी हुन राजी नभएपछि स्थायी कमिटी बैठक शुरू हुन सकेको छैन । प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्तावमा छलफल गर्ने भए बैठकमा सहभागी हुन नसक्ने अडान ओलीले राखेका छन् ।
मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकमा ओलीले प्रचण्डको प्रस्तावमा छलफल गर्ने बैठकका उपस्थित हुन नसक्ने भन्दै लिखित पत्र पठाएका थिए ।
केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्न मंसिर २८ गते बसेको बैठकमा भने ओली सहभागी भएका थिए । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा विवाद झनै उत्कर्षमा पुगेको छ ।