
अनलाइन सेयर कारोबारमा लगानीकर्ताको खरिदबिक्री आदेश नेप्सेको मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सबै ब्रोकरले एउटै कम्पनीबाट किन्न नपाउने व्यवस्था हुन लागेको छ । टीएमएस व्यवस्थापन ब्रोकरलाई दिने तयारी गरेको नेप्सेले सिस्टम खरिदमा भने यस्तो व्यवस्था गर्न लागेको हो ।
ब्रोकरले सञ्चालन गर्ने टीएमएस प्रणालीमा उच्च गुणस्तर कायम होस् र सिस्टम आपूर्तिमा एउटै कम्पनीको एकाधिकार नहोस् भनेर यस्तो व्यवस्था गर्न लागिएको नेप्सेले जनाएको छ । अन्तर्राष्ट्रिय अभ्यासअनुसार टीएमएस व्यवस्थापन व्यक्तिगत ब्रोकरलाई दिन लागिएको र त्यसको तयारी अन्तिम चरण रहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए ।
'ब्रोकरको सेवा प्रवाहलाई प्रतिस्पर्धी र गुणस्तरीय बनाउन लागिएको हो,’ उनले भने, ‘तोकिएको मापदण्डअनुसार ब्रोकरले सफ्टवेयर खरिद गरी टीएमएस सञ्चालन गर्न दिइनेछ ।’ बजारमा चर्चा भए जस्तो टीएमएस व्यवस्थापनका लागि नेप्सेले कुनै एक कम्पनीलाई जिम्मा नदिने उनले प्रस्ट्याए । ‘ब्रोकरले छुट्टाछुट्टै एपीआई अनुसार टीएमएस व्यवस्थापन गर्नुपर्नेछ,’ उनले भने, ‘सिस्टम आपूर्तिमा एउटै कम्पनीको एकाधिकार नहोस् भन्नेमा सचेत छौं ।’ ब्रोकरले खरिद गर्ने टीएमएस सिस्टम अन्तर्राष्ट्रिय रूपमा परीक्षण भएको हुनुपर्ने उनले बताए ।
नेप्सेले तयार पारेको सूचनाप्रविधिसम्बन्धी नीति (आईटी पोलिसी)मा यस्तो व्यवस्था छ । लकडाउनपछि मात्र नेप्सेको टीएसएसमा पटकपटक समस्या देखिएको थियो ।
सोही कारण नेप्सेले टीएमएस सञ्चालन र व्यवस्थापनको जिम्मा ब्रोकरलाई नै दिने गरी नीतिगत व्यवस्था गरेको हो । नीति तयार भए पनि लागू भइसकेको छैन । स्थापनाको करिब साढे दुई दशकपछि नेप्सेले पहिलो पटक सूचनाप्रविधि नीति बनाएको हो । टीएमएस व्यवस्थापन ब्रोकरलाई दिन नेप्सेले कार्यविधि (एप्लिकेसन प्रोगामिङ इन्टरफेस…एपीआई) तयार पारेको छ । जसमा हरेक ब्रोकरले छुट्टाछुट्टै एपीआई पाउनेछन् । सोही व्यवस्थाअनुसार ब्रोकरले टीएमएस व्यवस्थापन गर्नुपर्नेछ ।
नेप्सेले तयार पारेको एपीआईमा एउटा कम्पनीले कुल ब्रोकरको बढीमा २५ प्रतिशतलाई मात्र टीएमएस आपूर्ति गर्नुपर्ने, सिस्टम आपूर्ति गर्ने कम्पनीले अन्य राष्ट्रमा कम्तीमा दुई वटा धितोपत्र ब्रोकरलाई सेवा दिइसकेको हुनुपर्नेलगायत व्यवस्था छ ।
उता ब्रोकरहरूले भने टीएमएस सञ्चालनकै कम्पनी स्थापना गरिसकेका छन् । २५ करोड अधिकृत पुँजी रहेको उक्त कम्पनीको चुक्ता पुँजी १० करोड रहेको बताइएको छ । ‘क्यापटेक नेपाल प्रालि’ नाम रहेको सो कम्पनीमा ४८ वटा ब्रोकर र सफ्टवेयर निर्माण गर्ने एक स्थानीय कम्पनीले संयुक्त रूपमा स्थापना गरेका हुन् । कम्पनीमा ब्रोकरहरूको ५५ प्रतिशत, सिटिटेकको २० प्रतिशत, क्लियरिङ बैंकलाई २० प्रतिशत र ५ प्रतिशत सेयर व्यावसायिक विज्ञहरूका लागि छुट्याइएको छ ।
‘हाललाई टीएमएस व्यवस्थापन गर्ने भनिए पनि डाटा सेन्टरलगायत पुँजी बजारमा आवश्यक सबै प्रविधिजन्य काम गर्ने हो,’ स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटले भने । मौखिक रूपमा नेप्से र धितोपत्र बोर्डको सहमतिमा कम्पनी स्थापना गरिएकाले टीएमएस व्यवस्थापनलगायत काम गर्न समस्या नहुने उनको भनाइ छ । लगानीकर्ताका महत्त्वपूर्ण सूचना सुरक्षणका लागि आफूहरू संवेदनशील रहेको उनको भनाइ छ ।
दैनिकजसो कारोबार बढिरहेकाले अहिलेको सिस्टममा जोखिम व्यवस्थापन असहज भएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बताए । ‘टीएमएस व्यवस्थापन ब्रोकरलाई दिने व्यवस्था अझै लागू भएको छैन,’ उनले भने, ‘सो व्यवस्था कार्यान्वयनमा आएपछि सोहीअनुसार काम गर्न सजिलो हुने थियो ।’
टीएमएस ब्रोकरको कारोबार प्रणाली हो । यो प्रणालीले सेयर खरिदबिक्रीका लागि लगानीकर्ताबाट आएका आदेश नेप्सेको मुख्य कारोबार प्रणालीसम्म पुर्याउने, क्रम मिलाउने, तिनको रेकर्ड राख्नेलगायत काम गर्छ । हाल यसको व्यवस्थापन नेप्सेले नै गरिदिएको छ । अब भने ब्रोकर आफैंले सञ्चालन तथा व्यवस्थापन गर्न पाउनेछन् । ब्रोकरले टीएमएस व्यवस्थापन गर्दा नेप्सेले तय गरेको टीएमएसको सञ्चालन विधि र मापदण्ड भने पालना
गरेको हुनुपर्नेछ ।
अब ब्रोकरले रिस्क म्यानेजमेन्ट सिस्टम (आरएमएस) पनि सञ्चालन गर्ने नेप्सेले बताएको छ । हाल सिस्टममा आरएमएस छैन । आरएमएसको काम सीडीएससी, ग्राहक र ब्रोकरबीच समन्वय गर्नु हो । अन्तर्राष्ट्रिय अभ्यासअनुसार ब्रोकरलाई टीएमएस व्यवस्थापन दिइने बताइए पनि नेप्से आफू जिम्मेवारीबाट पन्छिएको जानकारहरूको भनाइ छ ।
‘आफूले व्यवस्थापन गर्न नसकेपछि नेप्सेले ब्रोकरलाई जिम्मा दिन लागेको छ,’ एक जानकारले भने, ‘ब्रोकरहरू अझै पनि व्यावसायिक र पारदर्शी छैनन् । अब उनीहरूबाट कसरी उत्कृष्ट व्यवस्थापनको अपेक्षा गर्ने ?’ ब्रोकरले लगानी गरेको कम्पनीले टीएमएस व्यवस्थापनसँगै डाटा सेन्टरको काम गर्दा स्वार्थ बाझिने भएकाले लगानीकर्ताको महत्त्वपूर्ण सूचना चुहावटको सम्भावना रहने जानकारहरू बताउँछन् । कान्तिपुर दैनिकमा यज्ञ बञ्जाडेले खबर लेखेका छन् ।