
प्रतिनिधि सभा विघटनसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेताहरू दुई खेमामा दुई ध्रुवीकृत भइसकेका छन् ।
पार्टी औपचारिक रूपमा मात्र विभाजन हुन बाँकी रहँदा लुम्बिनी प्रदेशबाट संघ र प्रदेशमा नेतृत्व तहमा रहेका प्रभावशाली नेताहरू केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल समूहमा आफूलाई उभ्याइसकेका छन् ।
लुम्बिनी प्रदेशमा धेरैजसो नेताहरू दुवै समूहका विश्वाश पात्रमा पर्छ । केपी ओली समूहका विश्वास पात्र विष्णु पौडेल र शंकर पोखरेलदेखि पुष्पकमल दाहाल र माधव नेपालका विश्वापत्र वर्षमान पुन, घनश्याम भुसाल पनि यसै प्रदेशमा प्रतिनिधित्व गर्छन् । अहिले कुनै समूहमा नखुलेका नेकपाका उपाध्यक्ष बामदेव गौतम पनि यसै प्रदेशका हुन् ।
यसले नेकपामा विभाजनपछि प्रदेशमा कुन समूहले ‘लिड’ गर्छ भन्ने निकै चासोपूर्वक हेरिएको छ । प्रदेशका १२ वटै जिल्लाका प्रभावशाली नेताहरू दुई खेमामा विभाजित भइसकेका छन् ।
सविक लुम्बिनी अञ्चलका ६ जिल्लमा केपी समूह बलियो देखिए पनि साविक राप्ती र भेरी अञ्चलमा प्रचण्ड–नेपाल समूहको पकड रहेको देखिन्छ ।
कुन जिल्लाका नेता कुन समूहमा ?
रूपन्देहीमा विष्णु पौडेल र घनश्याम भुसाल
राष्ट्रिय राजनीतिका प्रभावशाली नेता एवं रूपन्देही (बुटवल)बाट निर्वाचित सांसद तथा अर्थमन्त्री विष्णु पौडेल प्रधानमन्त्री केपी ओलीका विश्वास हुन् ।
लगातार तीनपटक बुटवलमा निर्वाचित जितेर पौडेल दुईपटक अर्थमन्त्री, रक्षामन्त्री, जलस्रोत मन्त्री भएका भइसकेका छन् । उनै पौडेलको प्रभावले रूपन्देहीमा ओली समूह बलियो देखिए पनि रूपन्देहीबाटै अर्का प्रभावशाली नेता घनश्याम भुसाल नेपाल समूहमा छन् । आफ्नो क्षेत्रमा उनको प्रभाव पनि कम आंकलन गर्न हुँदैन ।
राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछि कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भुसाल प्रचण्ड–नेपाल समूहमा लागेका छन् ।
मार्क्सवादका विचारक तथा विश्लेषकका रूपमा चिनिने भुसाल रूपन्देही क्षेत्र नम्बर ३ बाट राप्रपाका प्रभावशाली नेता दीपक बोहोरालाई पराजित गरेर प्रतिनिधि सभा सदस्य भएका थिए । रूपन्देही, दक्षिणी क्षेत्र तिलोत्तमा, सिद्धार्थनगर (भैरहवा) लुम्बिनी क्षेत्रमा भुसालको राम्रो पकड छ । माओवादीसँग एकता हुनुभन्दा पौडेल र भुसाल एमालेका उपमहासचिव थिए ।
गुल्मीमा प्रदीप ज्ञवाली र गोकर्ण विष्ट
गुल्मीका दुई जना प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली र गोकर्ण विष्ट दुई खेमाका हस्ती नै पर्छन् । ज्ञवाली ओली नजिकका नेता हुन् भने विष्ट प्रचण्ड–नेपाल खेमामा छन् । परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीलाई ओली समूहले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रवक्ता बनाइसकेको छ ।
त्यस्तै पूर्व श्रम तथा रोजगार र ऊर्जामन्त्री भएका बेला राम्रो काम गरेर वाहवाही कमाएका विष्टको प्रभाव गुल्मीमा राम्रो छ । राम्रो नेताका रूपमा दुवैले राम्रो छवि बनाएका छन् । उनीहरू दुई गुटमा लागेपछि गुल्मीका कार्यकताहरू अलमलमा देखिन्छन् ।
दाङमा शंकर पोखरेल र कृष्णबहादुर महरा
दाङबाट ओली र प्रचण्डका नजिकका नेताहरू दुई खेमामा विभाजित छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल ओली र पूर्वसभामुख कृष्णबहादुर महरा प्रचण्ड समूहमा लागेका छन् । यौन दुव्र्यवहारको मुद्दामा सफाइ पाएपछि महरा हालै राष्ट्रिय राजनीतिमा फर्किएका छन् ।
उनै महरालाई प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीमा मनोनय गर्ने निर्णय पनि गरेको छ । महरा प्रतिनिधि सभा र पोखरेल सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए । पोखरेल नेकपा लुम्बिनी प्रदेश इञ्चार्ज पनि हुन् ।
पाल्पामा सोम पाण्डे र दलबहादुर राना
पाल्पाबाट लगातार तीनपटक निर्वाचन जितेका पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे प्रचण्ड–नेपाल समूहमा लागेका छन् भने पूर्व भूमिसुधार मन्त्री दलबहादुर राना ओली समूहमा छन् । पाण्डे माधव नेपालका आफन्त पनि हुन् । राजनीतिमा लामो समय वामदेव निकट राना भने यो पटक ओली समूहमा लागेका छन् । पाण्डे र राना दुवैको पाल्पामा राम्रो पकड रहेको बताइन्छ ।
कलिवस्तुमा चक्रपाणि खनाल ‘बलदेव’ र बलराम अधिकारी
कपिलवस्तुका दुई नेताहरू चक्रपाणि खनाल र बलराम अधिकारी दुई खेमामा लागेका छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा राजनीतिक सल्लाहकार र पूर्व कृषिमन्त्री समेत रहेका खनाल प्रचण्ड खेमाका हुन् ।
संविधान सभा सदस्य अधिकारी ओली समूहका कडा लगाइमा नेता मानिन्छ । दुवै नेताहरू कपिलवस्तुमा राम्रो प्रभाव भएका नेता रहेकाले कार्यकर्ता अलमलमा देखिन्छन् ।
रोल्पामा वर्षमान पुन र कूलप्रसाद केसी
रोल्पाबाट प्रतिनिधि गर्ने निवर्तमान ऊर्जामन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्ती दुवै प्रचण्ड नेपाल समूहमा छन् । नेकपा प्रदेश अध्यक्ष समेत रहेका घर्ती र पुन श्रीमान श्रीमती पनि हुन् ।
रोल्पामा प्रभावशाली धेरै नेता प्रचण्ड समूहमा छन् । त्यहाँ ओली समूहको प्रभाव कमजोर देखिन्छ । त्यस्तै लुम्बिनी प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसी पर्ख र हेरको अवस्थामा छन् । उनी बादल निकट हुन् । प्रचण्ड–माधव समूहको भेलामा सहभागी हुन काठमाडौंसम्म पुगेका केसी बादल कुनै पनि समूहको बैठकमा नगएपछि बादलकै डेरामा बसेर कुनै पनि बैठकमा भाग लिएनन् ।
रुकुम पूर्वमा गणेशमान पुन र खेम मान खड्का
रुकुम पूर्वका नेता पूर्व आपूर्तिमन्त्री गणेशमान पुन प्रचण्ड–नेपाल समूह र नेकपा केन्द्रीय सदस्य खेममान खड्का ओली समूहमा लागेका छन् ।
त्यस्तै पूर्व खेलकूद मन्त्री कमला रोका पनि प्रचण्ड खेमामा लागेकी छन् । रुकुम पूर्वमा प्रचण्ड नेपाल समूहको प्रभाव बढी देखिन्छ ।
अर्घाखाँचीमा टोपबहादुर रायमाझी
कुनै समय एकीकृत माओवादी हुँदा बाबुराम भट्टराईका विश्वासपात्र अर्घाखाँचीका नेता टोपबहादुर रायमाझी माओवादी विभाजन भएपछि प्रचण्ड निकट, हुँदै अहिले नेकपा विभाजन हुँदा ओली समूहमा पुगेका छन् ।
तीनपटक निर्वाचन जितेका रायमाझी प्रचण्डतर्फ लाग्दा आउने निर्वाचनमा पराजित हुने डरले ओली खेमामा लागेको कतिपय नेताहरू बताउँछन् ।
अर्घाखाँचीबाट उनीजत्तिकै हाइट भएको नेता अहिले आएर प्रचण्ड–नेपाल समूहमा देखिँदैन । एमालेका कार्यकर्ता धेरै नेता कम भएको अर्घाखाँचीमा आफूलाई सुरक्षित राख्न रायमाझी ओली समूहमा लागेको आरोप छ ।
अर्घाखाँचीमा एउटा मात्र निर्वाचन क्षेत्र छ ।
प्युठानमा मणि थापा र कृष्णध्वज खड्का
प्युठानका प्रचण्ड निकट प्रभावशाली नेता मणि थापा ओलीतिर लागेका छन् । त्यस्तै प्रदेश सभाका प्रभावशाली नेता कृष्णध्वज खड्का प्रचण्ड निकट नेता हुन् ।
प्युठानकै अर्का नेता हुन् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा पनि । प्युठानको राजनीति पनि नेकपा विभाजनको अन्तिम चरणमा पुग्दा खल्बलिएको देखिन्छ ।
पश्चिम नवलपरासीमा हृदयेश त्रिपाठी र वैजनाथ चौधरी
पश्चिम नवलरासीका दुई जना प्रभावशाली दुई मन्त्रीहरू ओली समूहमा छन् ।
संघीय सरकारका सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी र लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरी ओली समूहमा लागेका छन् । सूर्य चिह्न लिएर स्वतन्त्रबाट निर्वाचन लडेका त्रिपाठी ओली समूहमा रहने बताइन्छ । उनी अहिले पनि मन्त्री छन् ।
बर्दियाका वामदेव मौन
बर्दियाका प्रभावशाली नेता तथा नेकपा उपाध्यक्ष वामदेव गौतम अहिले प्रचण्ड र ओली कुनै पनि खेमामा खुलेका छैनन् । उनले संसद्को विषयमा सर्वोच्च अदालतले गर्ने निर्णयअगाडि कुनै समूहमा नलाग्ने बताएका छन ।
उनी दुवै समूहको तानातानमा छन् । उनी जुनसुकै समूहमा गए पनि उनको प्रभाव देशभरि छ, जसले गर्दा उनीप्रति सबैको ध्यान खिचेको छ ।
त्यस्तै बाँकेका पुराना नेता कविराम थारु, आईपी खरेल पनि प्रचण्ड–नेपाल समूहमा छन् । बाँकेमा नेकपा केन्द्रीय सदस्य देवराज भार ओली समूहमा छन् ।
दुवै समूहको आफू नै बलियो रहेको दाबी
प्रदेशमा दुवै समूहले आफ्नो पक्षको बलियो रहेको दाबी गरेका छन् ।
नेपाल समूहका लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले कसैलाई पनि कमजोर भन्न नहुने बताए ।
उनले भने, ‘पार्टी अझै औपचारिक रूपमा विभाजन भएको छैन । अहिले नै कसैलाई पनि कमजोर छ/छैन भनेर टिप्पणी गर्न आवश्यक छैन ।’
ओली निकट प्रदेश नेता भूमिश्वर ढकाल प्रदेशमा सबै क्षेत्रमा आफूहरू बलियो रहेको दाबी गर्छन् ।