
कैलालीको धनगढी उपमहानगरपालिकास्थित अस्थायी प्रहरी पोस्ट जुगेडामा कार्यरत २ प्रहरीको हत्यामा संलग्न मुख्य योजनाकार भनिएका १ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
सोमवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–१० का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई सार्वजनिक गरेको हो ।
तस्करीको ट्रान्जिट क्षेत्र मानिने धनगढी जुुगेडा क्षेत्रमा तस्करहरूको गिरोह र गस्तीमा रहेका प्रहरीबीच दोहोरो झडप भई घटना घटेको प्रहरीको निष्कर्ष छ ।
घटनामा मुख्य भूमिका रानाकै रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अनुपम शम्शेर जबराले बताए । घटनालगत्तै भारत पसेका रानालाई नेपालतर्फ आइरहेको भन्ने विशेष सूचनाका आधारमा पुस १२ गते साँझ ७ बजे पक्राउ गरिएको उनले बताए ।
घटनामा यसअघि पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि कैलाली कारागार चलान गरिएको छ ।
हत्या आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१० का राजेन्द्र राना, पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, गोपाल भन्ने रामगोपाल राना र रोहित राना लाई जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि कारागार चलान गरिएको थियो ।
घटनामा संलग्न धनगढीका व्यापारी राजीव गुप्ता १ लाख ५० हजार धरौटीमा छुटेका थिए ।
गत कात्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँद बेपत्ता भएका थिए ।
विक कात्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएका थिए भने २ दिनपछि साउँद पनि मोहना नदीमै हत्या गरेकै अवस्थामा फेला परेका थिए । मृतक दुवै जनाको १ तह पदोन्नति गरिएको जबराले बताए ।