२१ असार २०८३, आइतबार

गाउँमा बिजुली बल्दा सल्लाको दियालोबाट छुटकारा

पुस १४, २०७७
गाउँमा बिजुली बल्दा सल्लाको दियालोबाट छुटकारा

निर्माण कार्य शुरू गरेको करीब १० वर्षपछि बिजुली बलेपछि हुम्लाको उत्तरी गाउँका स्थानीय वासिन्दाले उज्यालो देख्न पाएका छन् ।

हुम्लाको सिमकोट गाउँपालिका–८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका–३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बाका गरेर २५० घरधुरीले सल्लाको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन् । 

यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको खोल्सी गाउँका स्थानीय दन्त सिंहले जानकारी दिए । उनले भने, ‘गाउँमा पहिलो पटक बिजुली पुग्दा अन्धकारमुक्त भएका छौं ।’

छिफुन्बो लघुजलविद्युत् आयोजनाको २८ किलोवाट क्षमता भएको विद्युत्ले खोल्सीका ९०, खगाल गाउँका १००, लामाखोल्सीका ४० र गुम्बाका २० घरधुरी गरेर २५० घरधुरीले बिजुली बालिरहेका छन् ।
 
आधार विकास नेपाल हुम्लाले २ गाउँपालिकाका ४ वटा गाउँका सबै घरधुरीमा निःशुल्क बत्ती जडान गरिदिएको हो । अर्का स्थानीय दिपक सिंहका अनुसार कोही बत्ती बाल्न सक्ने थिए, कोही थिएनन् तर आधार विकासले जडान कार्यमा लाग्ने सम्पूर्ण खर्च सहयोग गरिदिएको हो । गाउँपालिका, संघीय सरकार, प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको करीब ३ करोडको आर्थिक सहयोग तथा स्थानीयको जनश्रमदानमा २८ किलोवाटको बिजुली उत्पादन गरिएको हो ।

कमेन्ट गर्नुहोस्