
संसद विघटनका विषयमा टिप्पणी गर्दै पूर्व राष्ट्रपति रामवरण यादवले आफूलाई अदालतप्रति भरोसा रहेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसका दिन बिहीवार आयोजना गरिएको सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै पूर्व राष्ट्रपति यादवले अदालतले संविधानको सही व्याख्या गर्ने आफूलाई विश्वास रहेको बताएका हुन् ।
'संसद विघटन असंवैधानिक ढंगले भयो, त्यसलाई संवैधानिक बनाउन चेतनशील नागरिकको जिम्मेवारी छ,' यादवले भने, 'शक्तिपृथकीकरणकै आधारमा न्यायालयले संविधानको व्याख्या गर्नेछ ।'
संसद विघटन संविधानसम्मत भयो कि भएन भनेर हेर्ने संस्था नै अदालत भएको यादवले जोड दिए ।
गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन भएको घोषणा गरेकी थिइन् । विघटन संविधानसम्मत नभएको भन्दै सडकमा सत्तारूढ नेकपाकै एउटा पक्षले आन्दोलनका कार्यक्रम गरिरहेको छ ।