
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ ।
पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजारस्थित सडक खण्डबाट आयुष थापा मगर र बालाजुस्थित सडक खण्डबाट रोशन लामिछाने सवार गरिरहेको मोटरसाइकलसहित आइतवार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।
नयाँबजार सडकखण्डबाट जिल्ला धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ चैनपुर बस्ने २२ वर्षीय आयुष थापा मगरलाई प्रदेश ३–०२–००८ प २६०७ नम्बरको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा मोटरसाइकलको वास्तविक नम्बर लु५२प ७३३५ खुल्न आएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल २०७६ भदौ ६ गते काठमाडौंको ठमेलस्थित भगवान बहाल मन्दिर अगाडि पार्किङ स्थलबाट हराएको हुँदा खो तलास गरी पाउँ भनेर कुमार राना मगरले महाशाखामा निवेदन दिएको थिए ।
निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ ।
काठमाडौंको बालाजु सडकखण्डबाट जिल्ला दोलखा भीमेश्वर नगरपालिका–३ भिमफेदी घर भई हाल काठमाडौंको रानिवन बस्ने २४ वर्षीय रोशन लामिछानेलाई बागमती प्रदेश ०२–०१७ प ३४४७ नम्बरको कालो रातो रंगको २२० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको छ ।
मोटरसाइकल २०७७ मंसिर १४ गते काठमाडौंको वनस्थलीबाट हराएकाले खोजतलास गरी पाउँ भनेर रामकृष्ण ढकालले हुलिया सहितको निवेदन महाशाखामा दिएको थिए । निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बालाजुमा पठाइएको प्रहरीले जनाएको छ ।
महाशाखाले पुस महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि ल्याएको छ भने चोरीमा संलग्न ११ जना व्यक्तिलाई पक्राउ गरी मुद्दा समेत चलाइसकेको छ ।