चितवन, ३ जेठ - उम्मेदवारको मृत्यु भएका कारण रोकिएको पूर्वी चितवनको कालिका नगरपालिकामा मतगणना सुरु भएको छ ।

मंगलबार राति ११ बजेदेखि मतगणना सुरु गरिएको कालिका नगरपालिकाका निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । सर्वदलीय बैठकको निर्णयअनुसार ९ः३० बजेदेखि मतगणना सुरु गर्ने भनिएपनि आवश्यक तयारी नहुँदा डेढ घन्टा ढिला गरी ११ बजेदेखि मतगणना थालिएको शर्माले जानकारी दिनुभयो ।
कालिका नगरपालिका–११ मा वडा सदस्यका उम्मेदवारको मृत्यु भएकाले अन्य वडामा वैशाख ३१ गते नै निर्वाचन भएपनि मतगणना रोकिएको थियो । कालिका नगरपालिकाको वडा नम्बर ८ र ९ बाट गणना थालिएको जनाइएको छ ।
रातिदेखि सुरु भएको मतगणनामा आज बिहान ६ः१५ बजेसम्मको अन्तिम नतिजाअनुसार कालिका नगरपालिकामा एक हजार २९२ मत गणना गरिएको छ । उक्त मतपरिणामअनुसार नेकपा ९एमाले०ले प्रमुखमा ५३१ र उपप्रमुखमा ४८३ मत ल्याएको छ ।
यस्तै, नेपाली काँग्रेसले प्रमुखमा ३७९ र उपप्रमुखमा ४३२ मत तथा नेकपा ९माओवादी केन्द्र०ले प्रमुखमा २०९ र उपप्रमुखमा १९६ मत ल्याएको कालिका नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
वैशाख २६ गते वर्षासँगै परेको चट्याङ लागेर नेकपा ९माओवादी केन्द्र०बाट कालिका नगरपालिका–११ का वडा सदस्यका उम्मेदवार सिफल चेपाङको मृत्यु भएको थियो । मृतक सिफलको स्थानमा माओवादी केन्द्रले सुकराम चेपाङलाई उम्मेदवार बनाएपछि मङ्गलबार मात्रै मतदान भएको थियो ।