३० असार २०८३, मंगलबार

अमेरिकाका परराष्ट्रमन्त्री पम्पेओ : जाँदाजाँदै थप ध्वस्त पार्दैछन् देशको छवि

माघ २, २०७७
अमेरिकाका परराष्ट्रमन्त्री पम्पेओ : जाँदाजाँदै थप ध्वस्त पार्दैछन् देशको छवि

हालैका दिनमा अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पेओमा एकखाले भूत सवार भएको छ । 

उनले इरानमाथि अल कायदा आतंकवादीलाई आधारभूमि बनाउन दिएको आरोप लगाए । आतंकवादविरुद्धको युद्धका नाममा इरानमाथि हवाई आक्रमण गर्नका लागि उनले भूमिका बाँधेका हुन् । 

पम्पेओले आफ्नो बहुलट्ठीपूर्ण दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण प्रस्तुत गर्न सकेका छैनन् । अल कायदाका वहाबी र इरानका शियाले एकअर्कालाई देखिसहँदैनन् भन्ने कुरालाई पनि उनले बेवास्ता गरे । अनि इरानको सैन्य गठबन्धनले सिरिया र इराकमा अल कायदा जस्ता आतंकवादी समूहहरूलाई सिध्याइरहेको पनि उनले ध्यान दिएनन् । 

पम्पेओसँग तर्कशीलता र बुद्धिमत्ता दुवै छैन । उनी अमेरिकी साम्राज्यवादका कुत्सित प्रचारक हुन् । 

त्यसलगत्तै पम्पेओले क्युबालाई आतंकवादको समर्थन गर्ने राज्यहरूको सूचीमा पुनः राखे । त्यसलाई पुष्टि गर्न उनले कुनै प्रमाण दिएनन् । क्युबाले भेनेजुएलाका राष्ट्रपतिलाई समर्थन गरेको भन्ने आरोपका आधारमा कालोसूचीमा राखिएको हो । तर वास्तवमा भन्ने हो भने आतंकवादको समर्थन गर्ने राज्य अमेरिका हो किनकि उसले भेनेजुएला र क्युबालाई लामो समयदेखि आर्थिक रूपमा घाँटी थिचिरहेको छ । 

पम्पेओले यमनका हूती विद्रोहीहरूलाई विदेशी आतंकवादी सूचीमा राखिएको घोषणा पनि गरे । उक्त कदमलाई संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकहरूले भर्त्सना गरेका छन् । यमनमा मानवीय सहायता पुर्‍याउने प्रयासलाई त्यस कदमले अवरोध गर्नेछ । अमेरिकाको समर्थन पाएको साउदी अरबले यमनमा पाँच वर्षदेखि क्रूर युद्ध गरिरहेकाले मानवीय संकट आएको छ । 

तर आफूलाई कट्टर क्रिस्चियन भन्ने माइक पम्पेओले युद्धका भयानक परिणाममा विचार गर्ने फुर्सदै पाएका छैनन् । उनी त इजरायलको गुप्तचर संस्था मोसादका प्रमुखसँग वाशिङटन डीसीमा डिनर खाँदै सूचना आदानप्रदान गर्छन् । त्यसको दुई दिनपछि इजरायलले पूर्वी सिरियामा हवाई आक्रमण गर्दा कैयौं मानिसको मृत्यु भएको थियो । 

चीन र रुसलाई पनि पम्पेओले थप चिढ्याए । अमेरिका र ताइवानबीच औपचारिक सम्पर्क आरम्भ भएको घोषणा उनले गरे । त्यसले चीनको सार्वभौमसत्तामा धावा बोल्यो र बेइजिङलाई आक्रोशित तुल्यायो । 

रुसको कुरा गर्दा अमेरिकाको परराष्ट्र मन्त्रालयले नोर्ड स्ट्रीम २ ग्यास पाइपलाइनको निर्माणमा संलग्न युरोपेली कम्पनीमाथि थप आर्थिक प्रतिबन्ध लगाउन खोजिरहेको छ । 

संसद् भवनमा हिंस्रक आक्रमण भड्काएकोमा दोस्रोपटक महाअभियोग लगाइएपछि ट्म्पले हिंसा र तोडफोड हाम्रो देशमा सह्य छैन भनी बयान दिएका थिए । तर पम्पेओले कार्यकाल सकिन लाग्दा कूटनीतिको साटो हिंसा र तोडफोड गरिरहेका छन् । 

बाइडन प्रशासनले अन्तर्राष्ट्रिय सम्बन्धमा कष्ट बेहोर्नुपरोस् भनी पम्पेओले जथाभावी गरिरहेको स्पष्ट छ । पम्पेओले जागिर खुस्किने बेलामा गरेका बहुलट्ठीपूर्ण कामलाई बाइडनको टोलीले सिद्धान्ततः उल्ट्याउन त सक्छ । तर प्रशासनिक ढिलाइका कारण त्यसलाई मिलाउन महिनौं लाग्छ । भत्केका सम्बन्ध बनाउन र विश्वास पुनः आर्जन गर्न समय त लाग्छ नै । 

पम्पेओको लक्ष्य भनेको रुस र चीनसँग अमेरिकाको सम्बन्ध ध्वस्त पार्ने अनि बाइडनले चाहे भने पनि त्यसलाई मर्मत गर्न नसक्ने स्थितिमा पुर्‍याउनु हो । बाइडनले पम्पेओका पछिल्ला कदमलाई उल्ट्याए भने पनि उनी मस्को वा बेइजिङप्रति नरम भएको भनी आलोचना गरिनेछ । 

अमेरिकी परराष्ट्रनीति पम्पेओको अपराधी मानसिकता र व्यवहारको बन्दी बन्नु निन्दनीय छ । त्यसो त सीआईएका पूर्व प्रमुख रहेका पम्पेओले ठग्ने, झूटो बोल्ने र चोर्ने विशेषता रहेकोमा एकपटक घमण्ड गरेका थिए । 

परराष्ट्र मन्त्रालयमा कार्यकाल सकिन लाग्दा उनी त्यो विशेषतालाई अनुशासनहीन तरिकाले अवलम्बन गरिरहेका छन् । 

यसै साता पम्पेओले युरोपको भ्रमण रद्द गर्नुपरेको थियो किनकि युरोपेली मुलुकका परराष्ट्रमन्त्रीहरूले उनलाई भेट्न चाहेनन् । त्यसो त युरोपेली राजनीतिकर्मीहरू अमेरिकाको पाउ मोलिरहेका हुन्छन् तर उनीहरूलाई पनि यी घिनलाग्दा परराष्ट्रमन्त्रीसँग कुराकानी गर्न मन लागेको छैन । 

दुईपैसे, अपराधी र पटमूर्ख : ट्रम्प प्रशासनका सबै नकारात्मक विशेषतालाई पम्पेओले प्रतिनिधित्व गरेका छन् ।

स्पुतनिक न्युजमा प्रकाशित फिनियन कनिंघमको आलेख
 

salt training

कमेन्ट गर्नुहोस्