२१ जेठ २०८३, बिहीबार

लोकतन्त्र कांग्रेसको ढुकढुकी - नेता निधि

लोकतन्त्र कांग्रेसको ढुकढुकी - नेता निधि
फाइल फोटो

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र कांग्रेसको प्राण भएको बताएका छन् ।

प्रजातान्त्रिक योद्धा स्वर्गीय रामनारायण मिश्रको शालिक आज महोत्तरीको जलेश्वरमा अनावरण गर्दै नेता निधिले लोकतन्त्र कांग्रेसको ढुकढुकी भएको अब्ताएका हुन् ।

'अन्य कतिपय दलका लागि लोकतन्त्र रणनीति, कार्यनीतिको विषय होला, तर कांग्रेसका लागि त यो जीवन पद्धति हो,' नेता निधिले भने, 'लोकतन्त्रका लागि सहादत गर्ने रामनारायण मिश्र हाम्रा आदर्श हुन् ।'

सहिद दिवसको अवसरमा नेपाली कांग्रेस महोत्तरीले आज मुलुकका प्रजातान्त्रिक योद्धा मिश्रको शालिक अनावरण कार्यक्रम आयोजन गरेको हो । नेपालमा राणाशाहीदेखि निर्दलीय पञ्चायती व्यवस्था रहँदा प्रजातन्त्रका लागि अनवरत सङ्घर्षमा होमिएका बिपी कोइरालाका सहयोद्धा मिश्रको योगदानबारे चर्चा गर्दै निधिले भने, '२०१७ सालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था खोसेसँगै तत्कालीन राजा महेन्द्रले कैयौँ प्रलोभन देखाए, तर प्रजातान्त्रिक निष्ठाका धरोहर मिश्रले ती प्रलोभनको सट्टा कठोर कारावास स्वीकार गर्नुभयो ।'

कार्यक्रममा नेपाली कांग्रेसका नेता एनपी सावद, आनन्दप्रसाद ढुङ्गाना र स्मृतिनारायण चौधरीलगायतले प्रजातान्त्रिक योद्धा स्व मिश्रको सङ्घर्षशील जीवनबारे प्रकाश पारे ।

मिश्रको शालिक लोकतन्त्रप्रति निष्ठा राख्ने सबैका लागि पूण्यस्थल बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता सरोज यादवले बताए ।

शालिक अनावरण समारोह नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्रकुमार रायको अध्यक्षतामा सम्पन्न भएको हो । महोत्तरीको पिपराका बासिन्दा मिश्र राणाशाहीविरुद्ध कांग्रेसको आन्दोलनमा सहभागी हुँदै राजनीतिमा होमिएका थिए ।

२०१५ सालमा तत्कालीन संसदीय चुनावमा तत्कालीन महोत्तरीकै एकक्षेत्रबाट सांसद निर्वाचित भएका मिश्र पहिलो जननिर्वाचित बिपी कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री थिए ।

२०१७ साल पुस–१ गते बहुदलीय संसदीय व्यवस्था खोसेर राजा महेन्द्रले मिश्रलाई लामो समयसम्म जेलमा राखेका थिए । जेलमा छँदै बिरामी परेका मिश्रलाई अन्तिमकालमा जेलबाट छाडिएको तर प्रजातन्त्र पुनस्थापनाका लागि अनवरत सङ्घर्षरत मिश्रको २०२७ साल पुस ६ गते निधन भएको थियो ।

मिश्र प्रजातान्त्रिक आन्दोलनका एक निष्ठावान व्यक्तित्वको रुपमा साझा नेता मानिन्छन् । कांग्रेसभन्दा फरक विचारका दलले पनि मिश्रको योगदानलाई उच्च मुल्याङ्कन गर्दै आएका छन् । मिश्रको योगदानलाई सम्झनामा रामनारायण मिश्र स्मारक समिति नै गठन गरेर शालिक निर्माण गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्