एकैछिन कफ्र्यु लगाएर आकाशमा हावा र बादललाई कैद गरेर आकाशलाई जुम गरी गरी गन्न मन छ ताराहरु ।
प्रत्येक तारालाई समाएर मच्ची मच्ची पिङ खेल्न पाए थर्किन्थ्यो होला आकाश त्यहिबेला हानेर एक मुड्की फोरेर आकाश हेर्नुहुन्थ्यो इश्वरको बस्ती ।
पसेर इश्वरको बस्तीमा हेर्न मन छ आकाशमाथी पनि आकाश हुन्छ कि हुन्न आकाश चढेर इश्वर भेट्न अझै उकालो हिड्नुपर्छ कि पर्दैन बुझ्न मन छ इश्वरको पनि इश्वर हुन्छ कि हुन्न !
कवि कट्टेल
मान्छेले भनेझैँ कहाँ रहेछ स्वर्ग र नर्क कस्तो हुदोरहेछ पापधर्म तौलिने तराजु पढ्न मन छ इश्वरको संविधान नाप्न मन छ इश्वरको बस्तीको लोकतन्त्र ।
मैले चढ्दै गरेको उकालोको अन्त्य कहाँ होला म झर्दै गरेको ओरालो कहाँसम्म झर्ला संसारको शीरदेखि फेदसम्म फैलाएर टाउको र पैताला वल्लो र पल्लो छेउसम्म फिजाएर हातहरु अड्किन मन छ सृष्टिलाई सानो देखाएर ।।