१६ असार २०८३, मंगलबार

दोभान बजारको आगलागी नियन्त्रणमा जुट्न योगेश भट्टराईको अनुरोध

फागुन १८, २०७७
दोभान बजारको आगलागी नियन्त्रणमा जुट्न योगेश भट्टराईको अनुरोध

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य, पूर्वमन्त्री तथा सांसद योगेश भट्टराईले ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा भइरहेको आगलागी नियन्त्रणमा जुट्न सबैलाई अनुरोध गरेका छन् ।

मंगलवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता भट्टराईले अनुरोध गरेका हुन् ।

उनले लेखेका छन्, ‘ताप्लेजुङ् जिल्लाको दोभान बजारमा भीषण आगलागी । ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति । आगलागी नियन्त्रणमा जुट्न सबैमा हार्दिक अनुरोध गर्दछु ।’

मंगलवार बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीय गणेश कार्कीले बताए । दोभान बजारमा अहिले ३५ घर जलेर पूरै नष्ट भइसकेका जनाइएको छ ।

उनले भने, ‘आगो नियन्त्रणभन्दा बाहिर गइसक्यो, केही घर भत्काएर अग्नि नियन्त्रण रेखा कोर्ने काम गर्दैछौं ।’ 

ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । उनले भने, ‘म पनि आगलागी क्षेत्रमा जाँदैछु । आगलागी भीषण छ भन्ने खबर आएको छ ।’

सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रण गर्ने पहल गरिरहेको कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्