
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायी उद्यमी दुर्गा प्रसाईंमा हिम्मत भएको भन्दै प्रशंसा गरेका छन् ।
मंगलवार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले आलोचना गर्ने र खुट्टा तान्नेको पर्वाह नगरी प्रसाईंले उदाहरणीय काम गरेको बताएका हुन् ।
‘दुर्गा प्रसाईंलाई मार्सी भनेर विरोध गरे, त्यसैलाई ब्राण्ड बनाइदिनुभयो । मार्सी बियर र माफिया हुस्की अनि डन इनर्जी डिंक बनाउने भनेर,’ ओलीले भने ।
यसअघि नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई घरमा लगेर मार्सी चामलको भात खुवाएको तस्वीर सार्वजनिक गरेपछि प्रसाईंलाई मार्सी भनेर व्यंग गरिएको थियो ।
प्रधानमन्त्री ओलीले रोजगारीका अवसर सिर्जना गर्ने सरकारको अभियान रहेको बताए ।