काठमाडौं, १० जेठ — दश महिनाअघि भएको ‘भद्र’ सहमतिअनुसार राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलवार दिउँसो ३ बजे नयाँ बानेश्वरस्थित संसद् भवन पुगे । चार घण्टा कुर्दासमेत सम्बोधन गर्न नपाएपछि प्रचण्ड ‘उकुसमुकुस’ हुँदै घर फर्के ।
स्थानीय निकायको संख्या थप गरिएको विषयलाई ‘बहाना’ बनाएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् अवरुद्ध गर्ने चेतावनी दिएपछि प्रचण्ड राजीनामा नगरी साँझ ७ बजे संसद् भवनबाट फर्के ।
संसद्लाई सम्बोधन गर्न हिँडेका प्रधानमन्त्री सम्बोधन गर्न नपाई घर फर्केको दुर्लभ संसदीय अभ्यास बन्यो मंगलवार । स्थानीय तहको संख्यालाई बहाना बनाएपनि नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्नका लागि संसद् अवरुद्ध पारेको विश्लेषण गरिएको छ । देउवालाई रोकेर दोस्रो चरणको चुनावसम्म प्रचण्ड सरकारलाई निरन्तरता दिनुपर्ने एमालेको जोडबल छ ।
एमाले अध्यक्ष ओलीले देउवासँग नै प्रश्न गरेका छन्, ‘बाईस दिनपछि प्रधानमन्त्री बन्दा के फरक पर्छ ?’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि तत्काल सरकार फेरबदलमा भन्दा चुनावी तयारीमा लाग्नुपर्ने निष्कर्षमा छ । संसद्का निर्वाचन प्रक्रिया शुरु गर्दा चुनावी तयारी बिथोलिने कांग्रेसकै कतिपय नेताको भनाइ छ ।
डा शेखर कोइरालाले भनिरहेका छन्, ‘एउटा चुनाव दुईवटा प्रधानमन्त्रीले गराएको विश्वमा कतै रेकर्ड छैन ।’ संसदमा सम्बोधनमार्फत राजीनामा दिने मनस्थिति बनाएका प्रचण्ड संसद् अवरुद्ध गर्ने एमालेको चेतावनीपछि कसरी राजीनामा गर्ने भन्ने परामर्शमा जुटेका छन् ।
निकटस्थहरूका अनुसार प्रचण्ड कसैको जोडबलमा सत्तामा टिकिरहने ‘मूड’मा छैनन् । ‘संसदबाट निर्वाचित भएकाले संसदमा सम्बोधन गरेरै राजीनामा गर्ने प्रचण्डको इच्छा छ,’ माओवादीका एक प्रभावशाली नेताले बुधवार लोकान्तरसँग भने, ‘संसद् सुचारु भएन भने राजीनामा गर्ने अन्य विकल्प छँदै छन् ।’ तस्वीर द हिमालय टाइम्स देउवालाई रोक्ने एमाले रणनीति
केही समयअघिसम्म प्रचण्ड सरकारलाई ‘अलच्छिना’को संज्ञा दिएका नेकपा एमालेका अध्यक्ष केपी ओली अहिले प्रचण्ड सरकारको निरन्तरताको कुरा गर्दा माओवादी केन्द्रका नेताहरू नै आश्चर्यमा परेका छन् । वैशाख ३१ गते सम्पन्न स्थानीय तहको चुनावको नतिजाले माओवादी आफ्नो मुख्य प्रतिस्पर्धी होइन भन्ने निष्कर्षसहित एमाले प्रचण्ड सरकारको निरन्तरताको पक्षमा देखिएको छ ।
एमालेले टेको लगाएपनि प्रचण्ड र माओवादी केन्द्रका बहुसंख्यक नेताहरू सरकार लम्ब्याउने पक्षमा छैनन् । ‘देउवा प्रधानमन्त्री बने भने निर्वाचनमा आफूलाई घाटा पर्छ भन्ने एमालेको बुझाइ छ,’ माओवादी केन्द्रका प्रभावशाली नेता मणि थापाले लोकान्तरसँग भने, ‘त्यसैले एमालेले प्रचण्ड सरकारको निरन्तरताको कुरा गरेको हो । कांग्रेसको एउटा तप्का पनि देउवालाई रोक्न चाहिरहेको छ ।’
देउवालाई प्रधानमन्त्री बन्न नदिएर कांग्रेस माओवादी केन्द्रको गठबन्धन भत्काउन सकिने एमालेको निष्कर्ष छ । तर माओवादी भने तत्काल कांग्रेससँगको गठबन्धन तोड्ने पक्षमा छैन । ‘एमाले भन्दापनि कांग्रेससँगको गठबन्धन माओवादी केन्द्रका लागि फाइदाजनक छ, मधेश समस्या लगायत मुद्दामा पनि दुई पार्टीको धारणा मिल्दोजुल्दो छ,’ माओवादी नेता थापा भन्छन्, ‘माओवादीका लागि कांग्रेस भन्दा एमाले खतरनाक हो ।’
वर्तमान सरकारलाई लम्बाउँदा पनि दोस्रो चरणको चुनावमा आफूलाई उल्लेख्य फाइदा नहुने माओवादीको विश्लेषण छ । ‘माओवादी र स्वयं प्रचण्डलाई सत्तामुखी भएको आरोप छ, आरोप खण्डनका लागि पनि माओवादी सत्ता लम्ब्याउन चाहँदैन,’ माओवादीका अर्का एक नेताले भने । पहिलो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेससँगको तालमेलले फाइदा नै भएको माओवादीको विश्लेषण छ । प्रचण्डले देउवालाई धोका देलान् ?
बेलाबखत एमालेका नेता कार्यकर्ताले सत्तोसराप गरेपनि प्रचण्ड ती नेता हुन् जसले एमालेका तीन नेतालाई प्रधामनन्त्री बनाउन मद्दत गरे । पहिलो संविधानसभा निर्वाचनमा पराजित भएका माधवकुमार नेपाललाई संविधानसभामा मनोनित गरेर प्रचण्डले नेता नेपाललाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिए ।
‘विषवृक्ष’ रोपेछु भनेर प्रचण्डले माधव नेपाल सरकारको विरुद्धमा आन्दोलन गरे । जति प्रहार गरिरहेपनि शान्ति प्रक्रिया टुङ्ग्याउन नेपालले अहं भूमिका खेले । माधव नेपाल सरकारको विस्थापनपछि प्रचण्डले नै एमालेका नेता झलनाथ खनाललाई प्रधानमन्त्री बनाए । ‘मेड इन नेपाल सरकार’ भनिएको खनाल सरकार धेरै लामो समय टिकेन ।
दोस्रो संविधानसभा निर्वाचनपछि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउन पनि प्रचण्डको भूमिका निर्णायक देखियो । भलै, कांग्रेससँगको सहमतिपछि प्रचण्डले ओली सरकारलाई बीचमै ढालिदिए । तर प्रचण्डले एमालेलाइै विगतमा गुनै गुन लगाएका छन् ।
विगतमा एमालेलाई लगाएको ‘गुन’ तिर्न एमाले यतिबेला राजी भएको छ, जतिबेला प्रचण्ड शेरबहादुर देउवालाई सत्ताहस्तान्तरणको तयारीमा जुटेका छन् । एमाले यतिबेला प्रचण्ड सरकारलाई काँध थाप्न पनि तयार भएजस्तो देखिन्छ ।
सरकारमा जाँदा ‘भद्र’ सहमति गर्ने र सहमति कार्यान्वयन नगर्ने र सत्ता लम्ब्याउन खोज्ने नेपालका राजनीतिक दलहरूको संस्कार हो । तर प्रचण्ड यसबाट अपवाद बन्न खोज्दैछन् । स्वकीय सचिव एवं पुत्र प्रकाश दाहालकै शब्दमा प्रचण्डले त्याग गरेर रेकर्ड राख्न चाहेका छन् ।
‘सडकमा राजीनामा माग्दै नाराबाजी हुँदा, संसदमा बहुमत गुम्दा, अविश्वास प्रस्ताव दर्ता हुँदा पनि राजीनामा नदिने नेता रहेको मुलुकमा प्रधानमन्त्री प्रचण्डले नेपाली राजनीतिमा सहमतिको पालनामा इमान्दार बन्नुपर्छ भन्ने स्थापित गर्न राजीनामा दिँदैछन् । फेरि पनि बधाई । अर्को सरकारले दोस्रो चरणको निर्वाचन सफल गरोस्,’ प्रकाशले मंगलवार सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेका छन् ।
विगतमा गरेको सहमति अनुसार प्रचण्ड देउवालाई सरकार हस्तान्तरण गर्न आतुर देखिएका छन् । ‘सत्तामा बसिराख्नु मेरो लागि रुचिको विषय होइन, राजनीतिक बेइमानी कमाउनु छैन,’ प्रचण्डले हेडक्वार्टर बैठकमा भनेका थिए ।
बिहान एउटा कुरा, दिउँसो अकै कुरा र बेलुका वेग्लै कुरा गरेर ‘भर नभएको नेता’ भनेर आरोप खेपेका प्रचण्डले छवि सुधार्ने मौकाको रूपमा सत्ता हस्तान्तरणलाई लिएका छन् ।