
हालै खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सरकारका मन्त्रीहरूसँग छलफल गरेका छन् ।
फागुन २९ गते सरकारसँग ३ बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका विप्लवसहितका नेताहरूले मंगलवार खानेपानी तथा सरसफाइ मन्त्री मणि थापासँग भेटवार्ता गरेका हुन् ।
शान्तिपूर्ण राजनीतिमा आएका विप्लव समूहका नेताहरूले माओवादी जनयुद्धको समयका सहयात्रीहरूलाई भेटिरहेका छन् ।
‘मन्त्री क्वार्टरमा विशेष भेटघाटमा’ भन्दै मन्त्री थापाले विप्लवसहितको तस्वीर सार्वजनिक गरेका हुन् ।
विप्लव समूहलाई वार्तामा ल्याउन मन्त्री थापाले पनि भूमिका खेलेका थिए । विगतमा माओवादी सशस्त्र जनयुद्धको समयमा सहकार्य गरेका नेताहरूबीच भएको कुराकानीबारे बाहिर आएको छैन ।
विप्लव सार्वजनिक हुनुअघि मन्त्री थापाले केपी ओली र विप्लवको राष्ट्रवादको परिभाषा मिल्दोजुल्दो भएको बताएका थिए ।
विप्लवले आइतवार मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति अनुसार कार्यकर्ता कहिले रिहा हुन्छन् भनेर प्रश्न गरेका थिए ।