
मेक्सिकोका मानव तस्करहरूले दुई साना बच्चालाई १४ फीट अग्लो सीमा पर्खालबाट अमेरिकाको भूमिमा फालेको भिडियो सार्वजनिक भएको छ ।
एक आमामाथि आक्रमण भएको र उनको ६ महिने शिशुलाई डुंगाबाट रियो ग्रान्दे नदीमा मिल्काइएको पनि पाइएको छ । त्यस नदीमा ६ अन्य आप्रवासीहरू डुबेका थिए ।
विचलित गराउने भिडियो फूटेज अमेरिकाको कस्टम्स बोर्डर यान्ड प्रोटेक्सनले बुधवार सार्वजनिक गरेको हो । इक्वेडरबाट आएका तीन र पाँच वर्षीया बच्चीहरूलाई टेक्ससको एल पासो नजिक मंगलवार साँझ पर्खालबाट झारिएको हो ।
ती बच्चीहरूलाई दुर्व्यवहार गरिएको र मान तस्करहरूले परित्याग गरेको बताइएको छ ।
उनीहरूलाई अधिकारीले सान्टा टेरेसा बोर्डर पट्रोल स्टेसन लगेर औषधोपचार गरेका थिए । मार्च महिनामा मेक्सिको र र अमेरिकाको सीमा पार गर्ने १६ हजार बालबालिका मध्ये उनीहरू पनि हुन् ।
जो बाइडनले कार्यभार सम्हालेपछि आप्रवासनको नियमलाई थप मानवीय बनाउने प्रतिज्ञा गरेका थिए । त्यसपछि हजारौं परिवार र बेसहारा बालबालिका दक्षिणी सीमाबाट अमेरिका पसेका छन् ।
तर आप्रवासीको भीड बढ्दै जाँदा उनीहरूलाई राख्ने कस्टडी सेन्टरमा कोचाकोच हुन थालेको छ । मेक्सिकोका मानव तस्करहरू चाहिँ आप्रवासीसँग पैसा धुतेर धनी बनेका छन् ।