
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निलम्बन गरेपछि नेता सुरेन्द्र पाण्डेले ओली लामो कालदेखि गुटपरस्त मानिस रहेको प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता पाण्डेले ओलीले गुटबन्दी गर्दैगर्दै गएर नवौं महाधिवेशनमा पार्टी कब्जा गरेको बताए ।
बिहीवार ओलीले नेता पाण्डे र घनश्याम भुसाललाई निलम्बन गरेका छन् । यसअघि ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गरिसकेका छन् ।
‘यो कदम पूर्व नियोजित र अपेक्षित नै थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली लामो कालदेखि गुटपरस्त मानिस हो । गुटबन्दी गर्दैगर्दै गएर नवौं महाधिवेशनमा पार्टी कब्जा गर्नुभयो । गुटद्वारा कब्जा गर्दै पार्टीका मानिस निकाल्ने, गुटद्वारा शासन गर्ने सिलसिलाकै जारी रूप हो । यसले आन्दोलनलाई नोक्सानी गर्छ नै । एमाले र मुलुकको कम्युनिस्ट आन्दोलन नै समाप्त गर्ने दिशातिर लाग्नु भएको छ । हामी कम्युनिस्ट आन्दोलनको झण्डालाई झुक्न दिँदैनौं । यसलाई अघि बढाउने कुरामा कुनै कसर बाँकी राख्दैनौं । घोषणा पत्रमार्फत गरिएका वाचाहरू, समृद्ध नेपाल निर्माण गर्ने अभिभाराहरू हामी पूरा गर्नेछौं । थप सशक्त, अझ जुझारू र गम्भीर भएर अघि बढ्छौं,’ पाण्डेले फेसबूकमा लेखेका छन् ।
यो कदम पूर्व नियोजित र अपेक्षित नै थियो । पार्टी अध्यक्ष केपी शर्मा ओली लामो कालदेखि गुटपरस्त मानिस हो । गुटबन्दी...
Posted by Surendra Pandey on Thursday, April 1, 2021