
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले थप दुईपटक राष्ट्रपति पदका लागि लड्न पाउने र सन् २०३६ सम्म राष्ट्रपति बन्न मिल्ने एक कानूनमा हस्ताक्षर गरेका छन् ।
उनले उक्त कानूनमा सोमवार हस्ताक्षर गरेका हुन् । जनमतसंग्रहपछि संविधानमा संशोधन गरेर राष्ट्रपतिको कार्यकाल बढाउने कानून बनाइएको हो ।
सन् २००० मा राष्ट्रपति बनेदेखि पुटिन सर्वशक्तिमान रहँदै आएका छन् ।
उनी सन् २०३६ सम्म राष्ट्रपति बने भने सोभियत संघमा २९ वर्ष शासन चलाएका जोसेफ स्टालिनलाई पनि उछिन्नेछन् ।
आधिकारिक रूपमा नयाँ कानूनले रुसी नागरिकलाई आफ्नो जीवनकालमा दुईपटक राष्ट्रपतिको कार्यकाल चलाउन पाउने छेकबार लगाएको छ । उही व्यक्ति घरि राष्ट्रपति बन्ने, घरि प्रधानमन्त्री बन्ने व्यवस्थालाई यसले हटाएको छ । पुटिनले यसै गरेका थिए ।
तर यो कानून लागू भएदेखिको मितिले मात्र राष्ट्रपतिको दुई कार्यकाल गणना गरिने हुँदा पुटिनले यसअघि चारपटक राष्ट्रपतिको कार्यकाल चलाएकोलाई गनिएको छैन । उनले थप दुई कार्यकाल चलाउन पाउनेछन् ।
विश्लेषकहरूले पुटिन सधैंका लागि राष्ट्रपति बन्न नचाहेको तर अहिलेको कार्यकालमा कमजोर अवस्थामा नपुगियोस् भन्नका लागि र शक्तिसंघर्ष नहोस् भन्नका लागि यो व्यवस्था गरेको बताए ।
तर पुटिनले सत्ता त्यागेर उत्तराधिकारी नियुक्त गर्ने सबै अवसर छोड्ने गरेका छन् । सत्ता हस्तान्तरणपछि उनी र उनका परिवार सुरक्षित रहने सुनिश्चित गर्न उनले नसकेको विश्वास केहीले गर्ने गरेका छन् ।
नयाँ कानूनले उनी र पूर्व राष्ट्रपति दिमित्री मेदभेदेभलाई आजीवन उन्मुक्तिको व्यवस्था गरेको छ ।