१७ असार २०८३, बुधबार

मलाई लज्जाबोध हुन थाल्योः ईश्वर पोखरेल

मलाई लज्जाबोध हुन थाल्योः ईश्वर पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक दलका अगुवा हरुमा व्यक्ति केन्द्रीत स्वार्थ विकसित हुँदै गएको भन्दै त्यो देखेर आफूलाई लज्जाबोध हुने गरेको बताएका छन् । उनले राजनीतिक वृतमा अगुवाहरुमा पद र कुर्सी मोहको कोलाहाल देखिएको टिप्पणी गरे ।
उनले भने, ‘राजनीतिक अगुवाहरुले सार्नुभएको मुद्दा, विचारले लज्जाबोध हुन्छ । हामीले पाएनौ, मैले पाइनँ, पाउनुपर्ने । नेतृत्व पक्तिमा रहेका मान्छेहरुको यही कोलाहाल देखिन्छ । यसले एकखाले मान्छेलाई राजनीतिसँग वितृष्णा जगाउँछ ।’

उनले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिदै गएको भन्दै त्यस विरुद्ध खबरदारी गर्न आह्वान पनि गरे । काठमाण्डौमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

स्वर्गीय रिमालले आफ्ना रचनाहरुमा सधै राजनीतिक विकृति, विसंगतिलाई तिखो कटाक्ष गर्दै जबरजस्त धाबा बोल्ने गरेको प्रसंग उल्लेख गर्दै उहाँले अहिले पनि मुलुकमा त्यस्ता विसंगतिहरु चुलिदै गएकाले त्यस विरुद्ध उभिनुपर्ने बताए । उनले विकास निर्माण र सम्मृद्ध नेपालको सपना देखेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नलिईकन “सपना देख्नेहरुलाई सराप्नेहरु पनि रहेको” भन्दै व्यंग्य गरे ।

उनले भने, “जसरी गोपालप्रसाद रिमाल सपना देख्नुहुन्थ्यो , आज आफ्ना सपनाहरुको मृत्यु नहोस् भनेर हामी सजग हुनु जरुरत छ । सपना नदेख्नु पनि राम्रो होइन । तर सपनाको मृत्यु हुनु त सबभन्दा डरलाग्दो कुरा हो । आज सपना देख्नेहरुलाई सराप्नेहरु पनि छन्। सपनाको मृत्युप्रति परवाह नगर्ने नालायकहरु पनि छन् । तर गोपाल प्रसाद रिमाल सपना देख्ने स्वप्नदर्शी पनि हुनुुहुन्थ्यो । उहाँले राजनीतिक क्षेत्रको विसंगति विकृतिको बारेमा कटाक्ष गर्नुभयो । धावा बोल्नुभयो । राजनीतिक क्षेत्रमा विकृति विसंगतिहरु प्रसस्त देखिन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु , विसंगतिहरु चुलिएका छन् । तर निरास हुनुहुदैन । त्यसको विरुद्धमा उभिनुपर्छ ।”

उनले मुलुकको सम्मुन्नत विकासका लागि राजनीतिक स्थायीत्व आवश्यक पर्ने र राजनीतिक स्थायीत्व नहुँदा देशले दुख पाउने भएकाले राजनीतिक क्षेत्रमा देखिएका विकृति विसंगति विरुद्ध सबैले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

salt training

कमेन्ट गर्नुहोस्