
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ताप्लेजुङको दोभान लगायतका अग्निपीडितलाई राहत प्रदान गरेको छ ।
कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई ६ लाख प्रदान गरेको हो ।
प्रतिपरिवार ९ हजारदेखि १८ हजारका दरले राहत रकम वितरण गरिएको कांग्रेस ताप्लेजुङले जनाएको छ । बिहीवार दोभान बजारमा राहत वितरण कार्यक्रमको आयोजना गरी नगद नै वितरण गरिएको हो ।
कांग्रेस जिल्ला सभापति लीलादेवी बोखिम, पूर्व सभापति केशव दाहाल लगायतले राहत रकम हस्तान्तरण गरेका थिए । केन्द्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमार्फत वितरण हुने गरी राहत रकम पठाएको थियो ।
त्रिचन्द्र कलेजमा अध्ययनरत ताप्लेजुङका विद्यार्थीको अगुवाइमा संकलित ६० हजार रुपैयाँ समेत सोही कार्यक्रमबीच वितरण गरिएको छ । गत फागुन १८ गते भएको आगलागीबाट दोभानका ५० घर जलेर नष्ट भएका थिए भने ६० परिवार विस्थापित बनेका थिए ।